व्यवस्थापन समिति अध्यक्षकै घरमा दलित प्रधानाध्यापक कुटिए

व्यवस्थापन समिति अध्यक्षकै घरमा दलित प्रधानाध्यापक कुटिए

केन्द्रबिन्दु
0
Shares

म्याग्दी । विद्यालय व्यवस्थापन समितिका अध्यक्षकै घरमा एक दलित प्रधानाध्यापक कुटिएका छन् । धवलागिरि गाउँपालिका–५ भेडिखाल्टास्थित जनज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक रेशमबहादुर विश्वकर्मा कुटिएका हुन् । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पार्वती पुर्जा (मगर) को घरमा विद्यालय सञ्चालनकै विषयमा छलफल भईरहेको बेला उनीमाथि कुटपिट गरिएको हो ।

‘दलित भएर मगरको घरभित्र पस्ने’ भन्दै स्थानीय बलबहादुर रोका र जितेन्द्र जुग्जालीले उनलाई कुटेका हुन् । लतारेर आँगनमा ल्याएर आँगनको डिलबाट पाँच मिटर तल कान्लामा खसालेको प्रधानाध्यापक रेशमबहादुरको भनाई छ । उनको देब्रे खुट्टाको दुईवटा औँला र पैताला जोड्ने हड्डी भाँचिएको छ ।

वडा सदस्यसमेत रहेकी विद्यालय व्यवस्थापन समिति अध्यक्ष पुर्जाले पनि आफ्नो घरमा विद्यालयको छलफलका क्रममा प्रअ विश्वकर्मा कुटिएको बताइन् । विद्यालय सञ्चालनका सम्बन्धमा छलफल चलिरहेका वेला प्रअमाथि आक्रमण भएको उनले बताईन् ।

घटना ५ वैशाख भएपनि वैशाख १५ मा उनको उजुरी प्रहरीमा दर्ता भएको छ । घाइते प्रअ उपचारका लागि लगत्तै पोखरा गएका थिए । जसका कारण घटना बाहिर आएन ।

६ वैशाखमा भेडिखाल्टाबाट बेनी अस्पताल आएका उनी मणिपाल शिक्षण अस्पताल रेफर भएपछि ८ वैशाखमा पोखरा गएका थिए । उनले जिल्ला प्रहरी कार्यालयमा भने छोरा दिप्सनमार्फत दुवै आरोपीविरुद्ध ७ वैशाखमै किटानी जाहेरी दिएका थिए । तर, १५ वैशाखमा मात्रै उजुरी दर्ता भएको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी महेन्द्रप्रसाद मरासिनीले अनुसन्धान भईरहेको बताए । बलबहादुर र जितेन्द्रविरुद्ध जिल्ला अदालतमा जातीय छुवाछुतसम्बन्धी मुद्दा दर्ता गरिएको उनले बताए । आरोपीहरु फरार रहेको र पक्राउ पुर्जी जारी भएको डीएसपी मरासिनीको भनाई छ ।

Logo