गोल्डेन गेट कलेज विश्वविद्यालयको रुपमा छिट्टै स्थापित हुँदैछः प्रिन्सिपल पौडेल [भिडियाेसहित]

गोल्डेन गेट कलेज विश्वविद्यालयको रुपमा छिट्टै स्थापित हुँदैछः प्रिन्सिपल पौडेल [भिडियाेसहित]

केन्द्रबिन्दु
336
Shares

शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेको गोल्डेन गेट इन्टरनेशनल कलेजका प्रिन्सिपल हुन्, रोहित बहादुर पौडेल । लामो समयदेखि शिक्षा क्षेत्रमा संलग्न पौडेल गोल्डेन गेट कलेज गुणस्तरीय शिक्षाको लागि दृढ रहेको बताउँछन् । विद्यार्थीको रुचि साथै क्षमता अनुसार उसको पढाइमा उत्प्रेरित गरी शिक्षा दिँदै आएको गोल्डेन गेटको सञ्चालक टिमले यस कलेजलाई विश्वविद्यालय बनाउने लक्ष्यका साथ अगाडि बढी पनि रहेको छ ।

स्कुलदेखि स्नातकोत्तरसम्मको कार्यक्रम राखी पठनपाठन सञ्चालन गर्दै आएको यस शैक्षिक संस्थाले शिक्षा क्षेत्रमा विकासका लागि मारेको फड्को निकै लोभलाग्दो देखिन्छ । उनै प्रिन्सिपल पौडेलसँग गोल्डेन गेटले अगाडि बढाएको शैक्षिक कार्यक्रम, विश्वविद्यालयको तयारी, कलेजले विद्यार्थीको लागि उपलब्ध गराएको शैक्षिक सुविधा लगायतका विषयसँग सम्बन्धित रही केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको छोटो कुराकानीको सम्पादित अंशः

विद्यार्थीहरुले गोल्डेन गेट कलेज नै राेज्नुकाे कारण के ? कस्ता छन् शैक्षिक सुविधा ?

-गोल्डेन गेट विद्यार्थीको रोजाइमा पर्नुको कारण साथै यो कलेज छनोट गर्न सकिने आधार धेरै छन् । स्कुलदेखि स्नातकोत्तरसम्म अधिकांश कार्यक्रमहरूलाई समेटेर शैक्षिक गतिविधि गोल्डेन गेटले अगाडि बढाइ रहेका छ । स्नातक तथा स्नातकोत्तर तहमा त्रिभुवन विश्वविद्यालय (टियु) अन्तर्गतका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । प्लस टुअन्तर्गत विज्ञान, व्यवस्थापन र मानविकी कार्यक्रम रहेको छ । स्नातक तहको विज्ञान संकायअन्तर्गत बी. टेक फूड, बीएससी पीसीएम, बीएससी माइक्रोबायोलोजी, बीएससी जीएसएम र बीएससी वातावरण विज्ञान कार्यक्रम रहेको छ ।

स्नातक तहकै व्यवस्थापन संकायमा आधारित बीबीएस, बीबीएम, बीएचएम र मानविकीमा बीसीए, बीए, बीएसडब्ल्यूको कोर्सहरू पढाइ हुँदै आएको छ । यसैगरी स्नातकोत्तर तहमा एमएससी पर्यावरण विज्ञान, एमएससी माइक्रोबायोलोजी, एमएससी माइक्रोबायोलोजी, एमबीएस, एमए अंग्रेजी र एमए अर्थशास्त्रका कोर्सहरू रहेका छन् । स्कुल लेभलको शिक्षाले विद्यार्थीको होलेस्टिक विकास गरिनु पर्छ । एउटा विद्यार्थीको होलेस्टिक निर्माण गर्नमा के–के विषय ध्यान पुर्याउनु पर्छ त्यो सम्बन्धित विद्यालयले नै थाहा पाउने विषय हो ।

अहिलेको विद्यार्थीलाई ज्ञान, सिप दिएर मात्रै पुग्दैन । उसलाई संस्कार पनि उतिकै आवश्यकता पर्छ भन्ने हाम्रो बुझाइ हो । यि सबै विषयलाई मध्यनजर गरेर गोल्डेन गेटबाट विद्यार्थीलाई शिक्षा प्रदान हुँदै आएको छ । हाम्रा शिक्षाहरूले पाठ्यक्रममा नभएका तर विदेशीमा पढाइ रहेका करिकुलमलाई पनि समेटेर विद्यार्थीलाई ज्ञान दिँदै आउनु भएको छ । जसले गर्दा विद्यार्थीको व्यक्तित्व विकासमा पनि मद्दत पुर्याउँछ भन्ने हाम्रो अपेक्षा छ ।

पाठ्यक्रम सक्नुभन्दा पनि विद्यार्थीलाई शिक्षामा नयाँ के दिन सकिन्छ भनेर फोकस गरेका छौं । विश्वमा चलेका भइरहेका गतिविधिलाई समेटेर विद्यार्थीलाई सिकाउँदै देखाउँदै आएका छौं । शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलापलाई पनि गेल्डेन गेट जोड दिएको छ । शारीरिक विकास राम्रो भयो भने मानसिक विकास पनि राम्रो हुन्छ भन्ने बुझाइ राखी यस्ता क्रियाकलापलाई पनि प्राथमिकता दिएका हौं ।

तपाईंको कलेजमा पढ्न आउने कस्ता विद्यार्थीले छात्रवृत्ति पाउँछन् ?

-विद्यार्थी सबैको एउटै क्षमता र चाहना हुँदैन । त्यसैले फरक विद्यार्थीको फरक क्षमताको पहिचान गरी कलेजले विद्यार्थीको व्यक्तित्व विकासमा उतिकै जोड दिइरहेको हुन्छ । त्यसले गर्दा पनि गोल्डेन गेटमा विद्यार्थीको आकर्षण एकदमै राम्रो छ । गोल्डेन गेट कलेजमा शुल्कका हिसाबले पनि औसत छ । जसले गर्दा पनि विद्यार्थी र अभिभावको रोजाइमा यो कलेज पर्छ ।

शुल्कको स्ट्रक्चर औसत हुँदाहुँदै पनि नेपाल सरकार र स्थानीय तहले व्यवस्था गरे अनुसारको छात्रवृत्ति दिँदै आएको छ । त्यसवाहेक कलेज आफैले छुट्टै छात्रवृत्ति व्यवस्थापन गरी दिँदै आएको छ । यो आर्थिक अवस्था कमजोर भएका परिवारका बच्चा शिक्षाबाट वञ्चित नहुन् भन्ने मान्यता गोल्डेन गेटले राखेको छ । शिक्षा सर्वसुलभ र सबैको पहुँचमा हुनुपर्छ भनेर कलेजले छुट्टै छात्रवृत्तिको व्यवस्थापन गरेको हो । होनहार र जेहेन्दार विद्यार्थी छ भने उसलाई छात्रवृत्ति हामी दिन्छौं ।

एसईई दिइसकेपछि विद्यार्थी आफैले प्लस टुमा कुन कलेज पढ्ने भनेर छान्ने परिपाटिको विकास हुँदै गएको देखिन्छ नि ?

-विद्यार्थी आफैले कलेज छनोट गर्ने विषय केही हदसम्म देखिन्छ । विशेषगरी गाउँका विद्यालयबाट आएका विद्यार्थीहरू सामाजिक सञ्जाल हेरेर आफै कलेज छनोट गरेको पाइन्छ । यद्यपि प्लस टुसम्म आफ्नो छोराछोरीको लागि अभिभावक आफैले कलेजको छनोट गरिदिन्छन् । नेपाल सरकारले विद्यार्थी कक्षा १२ उत्तीर्ण हुनै पर्ने बाध्यात्मकता व्यवस्था राखेको भएकाले पनि यो तहसम्म विद्यार्थी पढ्ने गर्छन् । त्यसपछि उनीहरूले आफ्नो बाटोलाई मोड्ने गरेको देखिन्छ । कक्षा १२ सम्मको अध्ययन सकेर विदेश जाने ट्रेन्डले बढावा पाइराख्दा विद्यार्थी पनि उच्च शिक्षा अध्ययनको लागि विदेश नै जान रुचाउँछ ।

तपाईंहरुले प्लस टु पढाइ राख्नुभएको छ । अब १० कक्षा सम्मको अध्यापन चाहिँ कहिलेबाट सुरु गर्ने योजना बनाउनुभएको छ ?

-मन्टेशवरीदेखि कक्षा १० सम्मको अध्ययन गराउने स्कुल खोल्ने योजना बनाएका छौं । तर, यसले पूर्णता पाएको छैन । कक्षा ११ र १२ सम्मको अध्यापन गोल्डेन गेट इन्टरनेशनल स्कुलबाट भइरहेका त्यो भन्दा तलका कक्षा सञ्चालन गर्ने कि नगर्ने भन्ने हो । यस विषयमा हामीले हाम्रो सञ्चालक टिमबीच छलफल गरिरहेका छौं ।

गोल्डेन गेट कलेजलाई विश्वविद्यालय बनाउने विषय कहाँ पुग्यो ?

-गोल्डेन गेटको कलेजको स्थापनाकालको उद्देश्य नै यस कलेजलाई विश्वविद्यालय बनाउने हो । यसलाई विश्वविद्यालय बनाउनको लागि अहिले हामी लागि परिरहेका छौं । यसले विस्तारै पूर्णता पाउँछ भन्ने हाम्रो विश्वास हो ।

एसईईको नतिजापछि कलेज अवलोकन गर्न आउने विद्यार्थीको लागि तपाईंको सुझाव के छ ?

-जेट जेनेरेसनको बच्चाहरूको सामाजिक सम्बन्ध कठोर छ । विद्यार्थीको उद्देश्य भिन्न हुन सक्छ । पढ्ने मात्रै उनीहरूको उद्देश्य नहुन पनि सक्छ । अभिभावकले आफ्नो बच्चा पढ्छ भनेर मात्र अपेक्षा राख्नु हुँदैन । आफ्नो बच्चाले केमा रुचि राखेको छ, त्यसमा अभिभावक आफैले ध्यान दिनुपर्यो । पढाइमा चाहेको छ भने उसले पढाइमा नभए उसको क्षमता अनुसारको फिल्डमा उसलाई हौसला दिन आवश्यक छ ।

हामीसँग विद्यार्थीलाई चाहिने मेजर विषय छ । सोही अनुसारको शैक्षिक पूर्वाधार भएकाले विद्यार्थीको लागि गोल्डेन गेट उपयुक्त कलेज हो भन्ने मलाई लाग्छ । शैक्षिक संस्थाको मेरुगण भनेको एकेडेमिशियन नै हो । कृषक र शिक्षक अवकाश हुँदैनन् । किनभने उ झन् अनुभवी हुँदै जान्छ । लामो अनुभव बोकेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका लगानीकर्ताको लगानी रहेको यस कलेजमा फ्याकल्टीहरू त्यही अनुसारका रहेका छन् । विद्यार्थीका पर्याप्त सुविधा रहेका यस कलेजमा जोडिँदा विद्यार्थीले पछुतो मान्नुपर्दैन ।

नेपाल विश्वको शैक्षिक प्रणालीको अनुपातमा निकै पछाडि छ । नेपाललाई विश्वको त्यो स्तरको शिक्षालाई पछ्याउन किन समस्या भएको हो ?

-नेपालले अपनाउँदै आएको शैक्षिक प्रणाली पुरानो भइसकेको छ । कोर्समा समय सापेक्षिक नयाँ विषयलाई समेटेर पठनपाठन गराइरहेका छैनौं । कोर्सको परिवर्तन गर्नमा ढिला हुँदा केही समस्या आएको देखिन्छ । विश्वमा प्रविधि र शैक्षिक क्षेत्रमा एकदमै छिटो परिवर्तन हुँदै गएको छ । हामीसँग त्यसलाई तत्काल अपनाउन सक्ने किसिमको जनशक्ति पनि छैन । शिक्षा र प्रविधिको कारण जसरी विकास देशहरूले छलाङ मारेका छन् । त्यसलाई मिट गर्ने किसिमको विषय पनि पाठ्यक्रम छैन ।

हामीले जुन समयमा शिक्षाको विकासको निमित्त जे काम गर्नुपर्थ्र्याे त्यो हुन नसक्दा हामी पछि परेको हो जस्तो मलाई लाग्छ । सबै काम एकपटक नसके पनि त्यसको डिपार्टमेन्ट खडा गरेर त्यसलाई निरन्तरता दिन सक्नु पर्थ्यो । विकास गर्दा कहाँ कहाँ अफ्ठयारो पर्छ त्यो बनाउने मान्छेलाई थाहा हुन्छ । हामीले त्यो प्रविधिको प्रयोग गर्यों । तर, त्यसलाई बिग्रियो भने बनाउन जानौं । जस्तो, हामीले प्रयोग गर्ने अधिकांश एप विदेशी छन् । भविष्यमा त्यसको प्रभाव कस्तो पर्छ । त्यो बिग्रिएको विकल्पमा के होला भनेर सोेचेनौं । प्रविधिको ग्रहणमा नेपाली छिटा छन् । तर, त्यसको उत्पादनमा गरिएको लगानी चाहिँ सन्तोषजनक छैन ।

नेपालको शैक्षिक क्षेत्रमा देखिएका चुनौती के हुन् ? शिक्षा क्षेत्रमा लिएको नीति ठिक छ ?

-प्रविधिको विकास सँगसँगै हरके विषयमा सहजता भइरहेकाे छ । एआईका कुराहरू उठिरहेका छन् । यो प्रविधिका कारण धेरैले भविष्यमा रोजगार गुमाउन सक्ने भनेर खबर आइरहेका छन् । यो विश्वका लागि चुनौती पनि हो । तर, हामीले अबको जनशक्तिलाई एआईले चलाउने हैन, एआई चलाउन सक्ने बनाउँदै जानुपर्यो । त्यो बनाउन सक्ने बनाउनका लागि कोर्समा पनि नयाँपन दिनुपर्यो । जुन नेपाल सरकारको पहलबाट हुने विषय हो ।

सुरुवाति सोचभन्दा पनि सुरुवात गर्नु चाहिँ ठुलो कुरो हो । शिक्षा नीतिको अवलम्बन गर्ने विषयमा आफ्नै कारणले समस्या बनाई रहेको छ । निजी क्षेत्रले शिक्षामा नयाँ विषयको आवश्यकता ठहर गरी वा ठूलो काम गर्ने लक्ष्य लियो भने त्यो सक्दैन । किनभने त्यसमा लगानी गर्नको लागि आर्थिक निजी क्षेत्रसँग पुग्दैन । शिक्षाको नीति परिवर्तनदेखि अवलम्बन गर्नेसम्मको सबैभन्दा ठूलो भूमिका सरकारको हुन्छ । सरकारले ठूला ठूला विषयलाई हेर्ने अनि जुन विषयमा फोकस हुनुपर्ने हो त्यस्ता विषयमा ध्यान नदिएकाे जस्तो देखिन्छ । नेपालले लिएको शिक्षा क्षेत्रमा सुधार र परिवर्तन पर्याप्त कहिले हुँदैन । किनभने शिक्षामा समय अनुसार परिवर्तनहरू आइराखेको हुन्छ ।

तपाईंले प्लस टु पछाडि विद्यार्थी विदेशिनुको कारण के पाउनु भएको छ ?

-अहिलेका प्लस टु पढ्ने धेरै विद्यार्थीको सपनाको सहरको बन्दै गएको छ, विदेश । विद्यार्थी कक्षा १२ को अध्ययन सकेर आम्दानीदेखि पढाइसम्मको बाटोलाई हेरेर विदेश जान थाले । एउटा विद्यार्थी १२ पढाइपछि कोरिया गयो भने महिनाको नै न्यूनतम दुई लाख रुपैयाँ आम्दानी गर्दो रहेछ । उही विद्यार्थी यहाँ बस्यो भने त्यति रकमको त कल्पना गर्न सक्दैन ।

अहिलेको पुस्ताले पैसा चाहिन्छ भन्ने कुरा बुझेको छ । स्नातक तथा स्नातकोत्तर पढी सकेर उसले पाएको स्किल विद्यार्थीले थाहा पाइसेका छन् । विद्यार्थीले यहाँ बसेर कति पैसा कमाउँछन् भन्ने विषय बुझेको छन् । विद्यार्थीले अहिले नै प्लस टु पछाडि कहाँ जाने भनेर धेरैले योजना बुनिसकेको अवस्था हो ।

विद्यार्थी विदेशिँदा स्नातक पढ्ने विद्यार्थीहरूको संख्या घट्दा धेरै कलेजले कार्यक्रमहरू घटाउँदै लगेका हुन् ?

-यो अवस्था अहिले भयावह छ । नेपाल सरकारले सार्वजनिक गरेको तथ्याङ्कले पनि विद्यार्थी विदेशीने संख्या उच्च रहेको देखाउँछ । अहिले स्नातकाेत्तर पढ्ने ६० र स्नातक पढ्ने ४० प्रतिशतसम्म घटेको छ । केही कार्यक्रमहरू यही अवस्थामा रहे भने कटौती गर्दै जानुपर्ने देखिन्छ । अभिभावक र विद्यार्थीको बुझाइको लेभल बढ्दै गएको छ । विद्यार्थीले पढिसकेपछि उसको क्षमता अनुसारको रोजगारको सुनिश्चितता हुनुपर्छ । पढेपछि उसलाई यहाँ रोजगारी भयो भने मात्र उ यहाँ अडिन्छ । त्यो हामीले कति दिन सकिरहेका छौं भनेर भनी राख्नुपर्दैन ।

रोजगारपछि पनि उसलाई आम्दानी भर पर्छ । श्रम एउटै तर आम्दानी विदेशमा धेरै हुँदा पनि अहिलेको पुस्ता विदेशीएका हुन् जस्तो मलाई लाग्छ । विदेशले काम ठूलो भन्छ हाम्रो देशमा पद ठूलो भन्ने भ्रममा छ । यो मान्यताबाट बाहिर निस्किएसम्म विकासले पनि तीव्रता पाउँदैन । त्यहाँका मान्छे जुनसुकै लेभलको काम गर्नबाट पनि पछाडि हट्दैनन् । यहाँ श्रमको उचित मूल्याङ्कन नहुँदा समस्या भएको पाइन्छ ।

हेर्नुहाेस्, भिडियाे-

Logo