काठमाडौं महानगरले बहुवर्षे शिक्षा नीति बनाउने

काठमाडौं महानगरले बहुवर्षे शिक्षा नीति बनाउने

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले मस्यौदा गरेको ‘बहुवर्षे शिक्षा नीति’लाई सहभागितामूलक बनाउन असार ७ गते सुझाव संकलन गर्ने कार्यक्रम आयोजना गर्ने भएको छ ।

राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममा सहभागी हुन अनलाइन फाराम भर्नु पर्नेछ । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार समावेशिता र क्षेत्रगत प्रतिनिधित्व सुनिश्चित हुनेगरी आवेदकहरुलाई एसएमएसमार्फत सहभागी हुन निमन्त्रणा गरिनेछ ।

नीति मस्यौदामाथि पृष्ठपोषण लिने क्रमको पहिलो चरणमा महानगरपालिकाका कार्यपालिका सदस्यहरु, विभागीय प्रमुखहरु, विद्यालय निरीक्षकहरु, विद्यालयका प्रधानाध्यापकहरु, स्रोत शिक्षकहरु, विद्यार्थी, शिक्षक (तहगत रुपमा) शिक्षा क्षेत्रका अगुवा, अभिभावकहरुसँग सुझाव लिइसकिएको छ । सानासाना समूहमा गरिएका छलफल तथा कार्यशाला आयोजना गरेर पृष्ठपोषण लिइएको हो ।

पाँच बर्षका लागि तर्जुमा हुने भएकोले नीति कार्यान्वयनमा सबै पक्ष सहभागी हुनसक्ने र नतिजामा सबैले स्वामित्व ग्रहण गर्न सक्ने बनाउन शिक्षा क्षेत्रको उत्थानका लागि काम गरिरहनुभएका सबैलाई समेट्न, नीतिलाई समावेशी तथा सहभागितामूलक बनाउन दोस्रो चरणको कार्यक्रम आयोजना गर्न लागिएको झाको भनाइ छ ।

यसरी प्राप्त भएका सुझावलाई समेटेर मस्यौदालाई शिक्षा समिति, कार्यपालिका बैठक तथा नगर सभा बैठक लगेर छलफल गराइनेछ । त्यहाँ प्राप्त सुझावसहित नीति पारित हुनेछ । यसले महानगरपालिकाको २० बर्षको रणनीतिक योजना दीर्घकालीन लक्ष्य २१०० का योजना तथा कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्न मद्दत गर्नेछ ।

यही नीतिका आधारमा कार्यक्रम तर्जुमा हुनेछन् । कार्यक्रम सञ्चालन गर्न बजेटको आकार र स्रोत सुनिश्चित हुनेछ । सहरी योजना आयोगका सहायक विज्ञ विवेक बास्तोलाका अनुसार दुई मिनेटमा अनलाइन फाराम भर्न सकिन्छ । सम्बन्धित व्यक्तित्वबाट उपयुक्त सुझाव लिने तयारी स्वरुप कार्यक्रममा सहभागी हुन अनलाइन आवेदन माग गरिएको हो ।

Logo