चाँदनी जोशी ‘प्रोज्ज्वल नक्षत्र सम्मान, २०८१’बाट सम्मानित

चाँदनी जोशी ‘प्रोज्ज्वल नक्षत्र सम्मान, २०८१’बाट सम्मानित

केन्द्रबिन्दु
1.6k
Shares

शिक्षा क्षेत्रमा लामो समयदेखि अनवरत रुपमा लागिरहेकी चाँदनी जोशी ‘प्रोज्ज्वल नक्षत्र सम्मान, २०८१’बाट सम्मानित भएकी छन् ।

केन्द्रबिन्दु डटकमले मंगलबार आयोजित दोस्रो संस्करणको ‘केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८१’मा नेपालको शैक्षिक क्षेत्र सुधारका लागि सक्रिय रहेकी जोशीले प्रोज्ज्वल नक्षत्र सम्मान पाएकी हुन् । उनलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

१९ वर्षको उमेरमा काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्यमा अध्यापन गराउँदै अंग्रेजी विभाग प्रमुख बनेर उनले शिक्षा क्षेत्रमा दिएको योगदान अन्त्यन्तै अतुलनीय छ । सरकारी तालिम सामग्री उत्पादन कार्यक्रमको अंग्रेजी सम्पादक हुँदै गर्दा राष्ट्रसंघीय विकास कोष (युनिफेम)को दक्षिण एशिया निर्देशक बनेर महिलाको क्षमता र अधिकारको उजागर गर्नमा उनले खेलेको भूमिका पनि भूल्न सकिँदैन ।

उमेरले ८ दशक छुनै आँट्यो, तर शिक्षा क्षेत्रको परिवर्तनमा होस् या लैंगिक अधिकारका विषयमा नीतिनिर्माण तहमै मुद्दा उठान गर्ने कार्यमा उनको जोश अहिले पनि युवावस्थाको जस्तै छ । राणा शासन विरोधी आन्दोलन शुरु हुनै लाग्दा सन् १९४६ मा पाल्पामा जन्मिएकी उनी १३ वर्षको उमेरमा काठमाडौं आएकी थिइन् । शुरुमा वकिल बन्ने चाहना थियो उनको । तर समयक्रमले चाहना पनि मोडियो ।

१९ वर्षकै उमेरमा एमए पास गरेकी उनले त्यसैवर्षदेखि काठमाडौंको पद्मकन्या क्याम्पसमा अंग्रेजी साहित्य पढाउने अवसर पाइन् । त्यसको केही वर्षमै पद्मकन्या क्याम्पसको अंग्रेजी विभाग प्रमुख बनिन् । चाँदनी जोशी मिहिनेती थिइन् । त्यही मिहिनेत उनको जीवनको उत्प्रेरणाको स्रोतका रुपमा विकसित हुँदै गयो । आफ्नाे जीवनकालकाे २६ वर्ष सरकारी सेवामा खर्चिएकी उनले सहसचिवसम्मकाे जिम्मेवार कूशलतापूर्वक निर्वाह गरिन् । साथमा उनीसँग १८ वर्ष संयुक्त राष्ट्रसङ्घ (युएन)मा गरेकाे अनुभव पनि छ ।

सरकारी तालिम सामग्री उत्पादन केन्द्रमा प्रमुखका रूपमा केही समय बिताएपछि उनी सोही केन्द्रअन्तर्गत पेवा बढाउने कार्यक्रम लिएर मुलुकका ग्रामीण भेगहरूमा पुगिन् । ५ वटा जिल्लाबाट सुरु गरेको उक्त कार्यक्रमलाई ४९ जिल्लासम्म पुर्‍याउन सफल भइन् । अहिले सरकारद्वारा सञ्चालित उक्त कार्यक्रम मुलुकभरका ७७ वटै जिल्लामा सञ्चालित छन् । उनले नेपालका अति दुर्गम क्षेत्रका अत्यन्तै विपन्न महिलासँग होस् वा अफ्रिकन मुलुकका पिछडिएका महिलासँग, समान रूपमा तिनका लागि आफ्नो समय, परिश्रम एवं सिर्जनशीलता लगानी गरेकी छन् ।

Logo