भीमदत्त नगरमा पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्र

भीमदत्त नगरमा पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई प्रमाण पत्र

केन्द्रबिन्दु
0
Shares

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । नयाँ शैक्षिक सत्रमा नगरपालिकाकाले बालबालिका र अभिभावकलाई मध्यजनर गरी कार्यक्रम गर्न लागेको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयमा ल्याउन अभिभावकलाई टिका लगाएर स्वागत गर्ने तथा बालबालिकालाई किताब सहितको झोला प्रदान गरिने जानकारी दिए । ‘भर्ना अभियानमा पहिलो बच्चा विद्यालय भर्ना गर्ने अभिभावकलाई टिका लगाएर स्वागत गरी प्रमाण पत्र दिन्छौ’ नगर प्रमुख विष्टले भने, ‘त्यसैले यो अवधिमा भर्ना हुने बालबालिकालाई किताबको झोला प्रदान गर्छौ ।’

नयाँ शैक्षिक सत्रका लागि बैशाख २ गतेदेखि ७ गतेसम्म नियमति भर्ना अभियान सञ्चालनको तयारी गरिएको छ । नियमति भर्ना अभियानमा पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई टिका टका लगाएर प्रमाण पत्र प्रदान गर्ने निर्णय गरिएको हो । यस बाहेक १५ गतेसम्म कक्षा १ मा भर्ना हुने सबै बालबालिकालाई झोला सहित किताब वितरण गरिने कार्यक्रम बनाइएको छ ।

नगर प्रमुख विष्टको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विद्यार्थी भर्ना अभियान सफल बनाउने प्रतिवद्धता सहित बालबालिका र अभिभावकलाई उत्प्रेरित गराउन यो निर्णय गरेको हो । भीनपाको आधारभूत माध्यमिक शिक्षा उप शाखाले विद्यालय भर्ना अभियान सफल बनाउने विभिन्न कार्यक्रमको तयारी गरिरहेको छ ।

भीमदत्तका निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले बालबालिकाल र अभिभावक दुबैलाई मध्यनजर गरी कार्यक्रम गरिने बताए । ‘कुनै पनि बालबालिका विद्यालय बाहिर नरहनु भन्ने उद्देश्य राखेका छौ, यस बाहेक सामुदायिक शिक्षामा आकर्षण बढ्ने आशा लिएका छौ’ निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्करप्रसाद भट्टले भने ।

पहिलो बच्चा भर्ना गर्ने अभिभावकलाई भीमदत्तका नगर प्रमुखको दस्तखत भएको प्रमाण पत्र वितरण गरिने उनले बताए । ‘सामुदायिक शिक्षाको गुणस्तर सुधारका लागि मेयरसाप, उपमेयर सापसहित सबै जनप्रतिनिधिबाट राम्रो प्रतिबद्धता आएको छ, यसलाई सफल बनाउन अन्य सरोकारवाला निकायसित पनि समन्वय र सहकार्य गर्छौ’ उनले भने । भीमदत्त नगरपालिकामा ५५ सामुदायिक विद्यालय छन् ।

Logo