तत्काल १० हजार नयाँ शिक्षक करारमा नियुक्त गर्ने तयारी

तत्काल १० हजार नयाँ शिक्षक करारमा नियुक्त गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले करारमा शिक्षक नियुक्त गर्ने भएको छ । अस्थायी शिक्षकहरु अनुउत्र्तिण भएपछि सरकारले खाली रहेका दरबन्दीमा शिक्षक करारमा नियुक्त गर्ने तयारी थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीबीच भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो।

शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला गर्ने तयारी गरेको हो। शिक्षा ऐनमा फेल भएका शिक्षकले स्वतः अवकाश हुने व्यवस्था भएपछि सरकारले तत्काल समस्या समाधान गर्न करारमा शिक्षक नियुक्त गर्न लागेको हो । असफल भएका शिक्षकहरुलाई नै पुनः नियुक्त दिईने हल्ला पनि चलेको थियो ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता दीपक शर्माले अनुत्तीर्ण शिक्षकलाई करारमा नियुक्ति गर्न नमिल्ने स्पष्ट व्यवस्था भएपछि विद्यालय व्यवस्थापन समितिमार्फत करारमा शिक्षक नियुक्ति गर्ने योजना रहेको बताए । खाली भएको स्थानमा नयाँ शिक्षक आउन करिब तीन महिना लाग्ने भएकाले छोटो अवधिका लागि करारमा नयाँ शिक्षक व्यवस्थापन गर्न लागिएको उनको भनाई छ ।

केन्द्रले मन्त्रालयसमक्ष विद्यालय व्यवस्थापन समितिमार्फत करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था गर्नुपर्ने जनाउँदै पत्राचार गरेको छ । पत्रमा स्थानीय तहमार्फत शिक्षक व्यवस्थापन गर्न प्रस्ताव गरिएको छ। मन्त्री पोखरेलले पनि अनुत्तीर्ण शिक्षकलाई पुनः करारमा नियुक्ति गर्ने पक्षमा नरहेको प्रष्ट पारेका छन् ।

फेल भएका शिक्षकलाई पुनः करारमा नियुक्ति गर्दा विद्यालय शिक्षाको गुणस्तर खस्कने बताउँदै नयाँ शिक्षकलाई करारमा नै नियुक्त गर्नुपर्नेमा शिक्षामन्त्रीको पनि जोड रहेको छ । मन्त्रालयले आगामी मंगलबारभित्र करारमा शिक्षक नियुक्ति गर्ने विषयमा निर्णय गर्ने भएको छ। शिक्षक सेवा आयोगको परीक्षामा करिब १० हजार शिक्षक अनुत्तीर्ण भएको अनुमान गरिएको छ।

Logo