परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल

परीक्षाको तयारी र सञ्चालनमा सहजीकरण गर्न मन्त्रालयको अपिल

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश नं २ मा माध्यमिक शिक्षा परीक्षा (एसइई) को बाँकी रहेका विषयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

श्रृङ्खलावद्ध रुपमा प्रश्नपत्र बाहिरिएको सन्दर्भमा उत्पन्न परिस्थिति र सम्बन्धित प्रदेशका सामाजिक विकास मन्त्रीको अनुरोधमा प्रदेश नं २ मा चैत २१ गतेसम्म सञ्चालन हुने सबै परीक्षा अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गर्न मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको छ ।

मन्त्रालयले प्रश्नपत्र बाहिरिएको सन्दर्भमा प्रश्नपत्रको सिलवन्दी र प्याकेटको सिलवन्दी परीक्षण गरिरहेको जनाउँदै स्थगित भएका परीक्षा चैत महिनाभित्रै गर्ने गरी सूचना प्रकाशित गरिने पनि सो मन्त्रालयले जनाएको छ ।

परीक्षा स्थगित हुँदा २६२ परीक्षा केन्द्रका ७० हजार ५६८ परीक्षार्थी प्रभावित भएको मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । अन्य प्रदेशमा सञ्चालन हुने र प्रदेश नं २ मा चैत २२ गतेका लागि तय भएको परीक्षा भने यथावत रुपमा सञ्चालन हुने जानकारी दिइयो ।

मन्त्रालयले प्रश्नपत्रको सुरक्षा सतर्कता अपनाउन सबै जिल्ला परीक्षा समन्वय समितिलाई निर्देशन दिएको छ । प्रदेश नं २ अन्तर्गतका परीक्षा केन्द्रमा विज्ञान र सामाजिक अध्ययन विषयका प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा सञ्चालन तथा व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले उक्त निर्देशन दिएको हो ।

पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सो अप्रिय घटनालाई आपराधिक घटनाका रुपमा लिएर थप जिम्मेवार र संवेदनशील भई प्रदेश सरकार, स्थानीय तह, अभिभावक, विद्यार्थी सङ्गठन, शिक्षाप्रेमी, शिक्षक समुदाय लगायतलाई परीक्षा तयारी र सञ्चालनमा सहजीकरण गर्न अपिल गर्नुभएको छ ।

उक्त घटनाका सम्बन्धमा मन्त्रालयद्वारा गरिएको अपिलमा भनिएको छ, ‘परीक्षा रद्द र स्थगनबाट विद्यार्थीलाई पर्न गएको असुविधाप्रति अभिभावक, विद्यार्थीलगायत सम्पूर्ण सरोकारवालाले चासो व्यक्त गर्नु स्वाभाविकै हो, सुरक्षित वातावरणमा विद्यार्थीले परीक्षा दिन पाउने अधिकारको संरक्षण गर्न सरकार प्रतिबद्ध छ । स्थगित भएका परीक्षालाई चैत २२ गते पछि कसरी गर्न सकिन्छ भन्ने कोणबाट छलफल भइरहेको छ ।

Logo