अस्थायी शिक्षक असार सम्म करारमा, स्थायी शिक्षक भदौंमा आउने

अस्थायी शिक्षक असार सम्म करारमा, स्थायी शिक्षक भदौंमा आउने

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । अस्थायी शिक्षकहरुले अझै असारसम्म करारमा रहनुपर्ने भएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रले उनीहरुलाई असारसम्म करारमै राख्ने गरी प्रस्ताव अघि सारेको हो । उनीहरुकै दवावपछि कक्षा कोठामा तत्काल नयाँ शिक्षक प्रवेश गराउन नसकिने तर्कसहित केन्द्रले उक्त व्यवस्थाको प्रस्ताव गरेको हो ।

केन्द्रको विद्यालय शिक्षक व्यवस्थापन शाखाका निर्देशक नगेन्द्र रेग्मीले खुल्ला विज्ञापनको नतिजा सार्वजनिक भएर नयाँ शिक्षक कक्षा कोठामा पुर्याउन भदौ सम्म लाग्ने भएकोले तत्काल पठन पाठनमा असर नपरोस् भनेर उक्त व्यवस्थाको प्रस्ताव गरिएको बताए ।

विद्यालयलाई नयाँ शिक्षक नियुक्ति गर भन्दा पनि प्रति शिक्षक २० हजार खर्च हुने र असार सम्म यीनै शिक्षकलाई राखियो भने आयोगले लिएको खुल्ला विज्ञापनबाट नयाँ शिक्षक तयार भईञ्जेल सम्म विद्यार्थीको पठन पाठनमा असर नपर्ने उनको दाबी छ ।

असारपछि बर्खेबिदा आउने र भदौंसम्ममा नयाँ शिक्षकले अध्यापन गर्न पाउने उनको भनाई छ । परीक्षामा सहभागी नहुने र सहभागी भएर पनि अन्तर्वार्तामा असफल हुने शिक्षकले गोल्डेन ह्याण्डसेक पाउँनेछन् । उनीहरुलाई दिनका लागि विद्यालय शिक्षक कितावखानामा रहेको ५ अर्ब २५ करोड रुपैंया प्रयोग गर्ने शिक्षा मन्त्रालयले यस अघिनै निर्णय गरिसकेको छ ।

अस्थायी शिक्षक व्यवस्थापनका लागि थप १० अर्ब रुपैंया लाग्ने भएकोले उक्त रकम अर्थ मन्त्रालयसँग माग गरिएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलको भनाई छ । गत असारमा लिएको कार्यरत अस्थायी शिक्षकको परीक्षाका सबै प्रकृया पुरा गरेर आयोगले गत फागुन २३ गतेबाट अन्तिम नतिजा सार्वजनिक गर्न शुरु गरेको छ ।

Logo