करिश्मा र शान्ताको सपना पुरा, अब लक्ष्य ‘पिएचडी’ को (भिडियोसहित)

करिश्मा र शान्ताको सपना पुरा, अब लक्ष्य ‘पिएचडी’ को (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आजदेखि माध्यमिक विद्यालय परीक्षा (एसईई) सुरु भएको छ । उच्च शिक्षाको लागि फलामे ढोका मानिने एसईई परीक्षामा देशभरका ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भइरहेका छन् । यो पटकको परीक्षामा नेपालका दुई सेलिब्रेटी पनि सहभागी भए । चलचित्र क्षेत्रकी सदाबाहर नायिका करिश्मा मानन्धर र नेकपा सचेतक तथा सांसद शान्ता चौधरीले एसईई परीक्षा दिए ।

कमलरी हुँदै मूलधारको राजनीतिमा छुट्टै छवी बनाउन सफल शान्ता चौधरी दाङबाट परीक्षामा सहभागी भईन् । पारिवारिक तथा सामाजिक कारणले अध्ययनबाट वञ्चित चौधरीले महेन्द्र मावि, तुलसीपुरबाट एसईईको परीक्षा दिएकी हुन् ।

उनकी छोरीले पनि यसैवर्ष परीक्षामा समाले भएकी छन् । छोरीले काठमाडौंबाट बाट परीक्षा दिइरहेकी हुन् । ३७ वर्षीया सांसद चौधरीले परीक्षाको लागि भन्दै चैत २० गतेसम्मका लागि संसदबाट बिदा लिएकी छन् । पीएचडी पूरा गर्ने लक्ष्यका साथ अध्ययन थालेकी सांसद चौधरीले एसइईको नतिजाका आधारमा अगाडि बढ्ने पनि बताउँदै आएकी छन् । एसइईमा राम्रो ग्रेड आए थप अध्ययन गर्ने उनको सोचाई छ ।

पहिलोपटक संविधान सभामा समानुपातिक सांसद बनेकी उनले संसदीय सभापतिको भूमिका निभाएकी थिइन् । त्यसवखत उनमा अध्ययनको कमी भएकाले बहस गर्न कठिन भयो । सहकर्मीहरुले उनलाई पनि नपढेकी सांसद भनेर टिका टिप्पणी गरेका थिए ।

त्यसपछि उनको ध्यान पढाईतिर गयो । शुरुमा उनले घरमै छोरा र छोरीसँग स्वअध्ययन गरेकी थिइन् । त्यसपछि कक्षा ८ मा भर्ना भएकी थिईन् । ८ वर्षको कलिलो उमेरदेखि २५ वर्षसम्म जमिनदारको घरमा कमलरी बसेकी उनी त्यहाँबाट विद्रोह गरी राजनीतिमा होमिएकी थिइन् । उनको एक छोरो र एक छोरी छन् ।

त्यस्तै चर्चित नायिका करिश्माले पनि पहिलो पटक एसईई दिएकी छन् । पछिल्लो समय राजनीतिमा समेत सक्रिय रहेकी करिश्माले विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार केन्द्रबाट परीक्षा दिईरहेकी हुन् । उनले त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतिदेवीमा अध्ययन गरेकी हुन् ।

१४ बर्षको उमेरमा ‘सन्तान’ चलचित्रमार्फत अभिनयमा डेब्यु गरेकी करिष्मालाई एकपछि अर्काे अफर आयो । जसले गर्दा उनले ७ कक्षा पढ्दापढ्दै पढाईलाई बित मार्न बाध्य भईन् । एक पटक समाचारमा ‘कक्षा ८ नपढेका सेलिब्रेटी’ भनेर समाचार आएपछि उनी ब्युझिइन् । त्यसपछि ग्यालेक्सी पब्लिक स्कुलमा भर्ना भएर नियमित पढ्न थालेकी उनी हाल मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कुलका विद्यार्थी हुन् ।

भविष्यमा नामको अगाडि ‘डा.’ लेखाउने दृढ ईच्छा बोकेकी करिष्माले पनि यस बर्षको एसइईमा सहभागी भएकी हुन् । उनले गणितमा कमजोर भएको बताउँदै आएकी छिन् । तर पनि उनले अप्सनल म्याथ लिएर पढीरहेकी छिन् । यो परीक्षा सकेर नयाँ फिल्म बनाउने उनले बताएकी छन् ।

 

Logo