७ नबज्दै खाना खाएर विद्यालय जानेहरुको कथा

७ नबज्दै खाना खाएर विद्यालय जानेहरुको कथा

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

सामान्यतः बिहानको खाना खाने समय १० बजेपछि हो । तर, कार्यालय र बिद्यालय जानुपर्नेहरु भने ९ बजे खाना खान्छन् । त्यो भन्दा चाँडै खाना खानुपर्ने बाध्यता भयो भने कि त हटकेशमा खाना बोक्छन् कि त कार्यालय वा बिद्यालयकै क्यान्टिनमा खाना खान्छन् ।

तर, किरण गोले (१३) र प्रशान्त तामाङ (११)को हकमा भने यि सबै कुरा फेल खान्छ । कक्षा ६ मा अध्ययनरत उनीहरुले बिहान ७ नबज्दै खाना खाई सक्नुपर्छ । सामान्यतः यो चिया खाने समय हो । तर, अन्य बिद्यार्थीहरु चियाको चुस्की लिँदै होमवर्क गरिरहँदा उनीहरु भने भ्याईनभ्याई गरी खाना खाएर बिद्यालय दौडिरहेका हुन्छन् ।

बिहान सबेरै ताजा खाना पकाउन सम्भव पनि हुदैन ।  “तरकारी पकाउने, भात हिजोकै खाने ।” किरण भन्छन । कुनै दिन केही गरी बासी भात सक्यो र खाना पकाउन भ्याएन भने कि त उनीहरु भोकै हिड्नुपर्छ कि त बिद्यालयमा कारवाही भोग्न तयार हुनुपर्छ । किनकी गोले र तामाङलाई विद्यालय पुग्न मात्रै दैनिक करिव २ घण्टा हिड्नुपर्छ । त्यसकारण पनि उनीहरुलाई बिहान साढे ६ बजेदेखि पौने ७ बजेभित्र खाना खाईसक्नुपर्ने बाध्यता छ ।

यो कुनै दुर्गम हिमाली जिल्लाको व्यथा होईन । सबैभन्दा सुगम मानिने प्रदेश ३ मा पर्ने केन्द्रिय राजधानी काठमाडौंबाट नजिकै रहेको मकवानपुरका बिद्यार्थीहरुको समस्या हो । अझ भनौ, नेपालकै पुरानो त्रिभुवन राजपथ (बाइरोडको बाटो) आसपासका बिद्यार्थीहरुको पीडा हो ।

उत्तरी मकवानपुरको थाहा नगरपालिका १२ गैरीगाउँका बिद्यार्थीहरु हुन् गोले र तामाङ । यो गाउँ मकवानपुर र धादिङ जिल्लाको सिमानामा पर्छ । भौगोलिक दुरीको हिसावले धादिङको विद्यालय नजिक भए पनि उनीहरु मकवानपुरकै थाहा नगरपालिका ११ टिष्टुङस्थित श्री बागेश्वरी माध्यामिक बिद्यालयमा पढ्छन् । यो बिद्यालयमा आउजाउ गर्न उनीहरुले दैनिक करिव ४ घण्टा पैदल हिड्नुपर्छ ।

यहाँका बिद्यार्थीहरु प्राथमिक तहसम्म स्थानीय तारुका प्राथमिक विद्यालयमा पढ्छन् । त्यसपछि माध्यामिक तहको अध्ययनका लागि उनीहरु कि धादिङ पुग्नुपर्छ कि त टिष्टुङ । उनीहरुका लागि आफ्नै  नगरपालिकाभित्रको टिष्टुङस्थित बागेश्वरी माध्यामिक बिद्यालय पुग्नु भन्दा छिमेकी जिल्ला धादिङको बिद्यालय नजिक पर्छ । तर पनि उनीहरु टाढा कै बिद्यालय पढ्न जान्छन् । किन त ? “त्यहाँ पढाई राम्रो छैन, यहाँ धेरै राम्रो छ ।” किरणले भने ।

बिद्यालय जान उनीहरुसँग तीन वटा विकल्प छन् । पहिलो विकल्प हो त्रिभुवन राजपथ भई चल्ने सार्वजनिक सवारीसाधन । तर, सार्वजनिक सवारी चलाउने थोरै चालकले मात्रै उनीहरुको इशारालाई दया गरि दिन्छन् । त्यसकारण उनीहरुलाई सार्वजनिक यातायातका साधनको कुनै भर लाग्दैन । उनीहरुको दोश्रो विकल्प हो लिफ्ट मागेर आऊ जाऊ  गर्ने । सम्भव भएसम्म खाली आएको मोटरसाइकल र स्कुटरमा लिफ्ट माग्दै उनीहरु बिद्यालय आउजाउ गर्छन् । ‘बस र माइक्रो रोक्दै रोक्दैन तर बाइक रोक्छ ।’ लजालु स्वभावका प्रशान्तले भने । तर, मोटरसाइकलमा बढीमा २ जनालाई मात्रै लिफ्ट दिन मिल्ने भएकाले सबै बिद्यार्थीले सधै लिफ्ट पाउन सक्दैन । उनीसँग भएको अन्तिम विकल्प हो पैदल यात्रा । बाध्यात्मक पैदल यात्रा नै उनीहरुको सबैभन्दा भरपर्दाे र बिश्वासिलो विकल्प हो । त्यसैले त किरण र प्रशान्त जस्तै गौरीगाउँ, तारुका, दोभान खोलालगायत आसपासका करिव ७० जना बिद्यार्थी दैनिक ४ घण्टा हिडेर बिद्यालय आउजाउ गर्छन् । यसरी आउजाउ गर्नेमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरु छन् । यस क्षेत्रमा घलान, गोले, बल, तामाङ, स्याङतान लगायत जातिको बसोबास रहेको छ ।

उनीहरु दैनिक जसो भ्याईनभ्याई गरी लखतरान भएर बिद्यालय जानुपर्छ । बिद्यालय पुग्दा भोक लागिसकेको हुन्छ । भोक र थकाईका कारण उनीहरुले चाहेर पनि पढाईतर्फ ध्यान केन्द्रित गराउन सक्दैनन् । विद्यालयले उनीहरुलाई दिउँसो १ बजे खाजा दिन्छ । खाजावापत उनीहरुले मासिक २ सय रुपैंया विद्यालयलाई बुझाउनुपर्छ ।

बिद्यालयबाट उनीहरु बेलुका ४ बजे छुट्छन् । तर, उनीहरु घर पुग्दा साढे ६ बज्छ । बिहान विद्यालय जान भन्दा घर फर्किन गाह्रो हुने उनीहरु बताउँछन् । कहिलेकाँही त उनीहरु घर पुग्दा खाना पाकिसकेको हुन्छ । हिडेर थकित उनीहरुको शरिर र मन मस्तिस्कले आराम खोज्छ तर पनि होमवर्क नगरि सुत्ने कुरा भएन । “बिहान उठेर होमवर्क गर्न भ्याईदैन त्यसैले राती अबेरसम्म होमवर्क गर्नुपर्छ, कहिलेकाँही त होमवर्क गर्दागर्दै निदाईन्छ ।” किरण भन्छन् ।

आफ्नो बालबच्चालाई गाह्रो भएपछि अभिभावकहरुले पनि बिद्यालयमा गएर गुनासो पोखे । अभिभावकको गुनासोपछि बिद्यालयले पनि बसको व्यवस्था गरेको थियो । तर, बिद्यालयले बस नियमितरुपमा नचलाएको उनीहरुको गुनासो छ । “बस भए त २० रुपैंया तिरेर भए पनि सजिलै जान पाइन्थ्यो ।” किरणले भने ।

पालैपालो किताब बोक्ने

बिद्यालयमा दैनिकरुपमा ९ वटा विषयको पढाई हुन्छ । सबै किताब, कापी र झोलाको भारी बोकेर जान सक्दैनन उनीहरु । त्यसैले किताब पनि पालैपालो बोक्छन् । बेच्नमा सँगै बस्ने साथीसँग कसले कुन किताब बोक्ने भन्ने सल्लाह गरेका छन् उनीहरुले ।

त्यसकारण उनीहरु ४ देखि ५ वटा मात्रै किताब बोक्छन् । केही गरी साथीले किताब बोक्न बिर्स्यो अथवा विद्यालय आएनन् भने सँगै बस्ने ३/४ जनाले एउटै किताब हेरेर पढ्छन् उनीहरु । यसरी पढ्नुपर्दा राम्ररी पढ्न नसकेको उनीहरुको अनुभव छ ।

अफिसमा काम गर्ने धोको

किरण र प्रशान्त दुबैलाई धेरै पढ्ने रहर छ । तर, रहर पूरा गर्न उनीहरुसँग पर्याप्त स्रोतसाधन छैन । त्यसैले उनीहरुले बढीमा १२ कक्षासम्म पढ्ने लक्ष्य लिएका छन् । अहिले उनीहरु अध्ययनरत बिद्यालयमा कक्षा १० सम्म मात्रै पठनपाठन हुन्छ । तर, नयाँ विद्यालय भवन बनिरहेकाले १२ कक्षासम्म त्यही पढ्न पाउने उनीहरुको आशा छ । धेरै पढेर अफिसमा काम गर्ने उनीहरुको धोको छ ।

अफिसको ढोकासम्म पुग्ने भाईहरु धोको पूरा होस्, शुभकामना ।

Logo