हेराल्ड ल स्कुलले यस वर्षदेखि बीएएलएलबी पढाउने, ४० सिटका लागि आवेदन माग

हेराल्ड ल स्कुलले यस वर्षदेखि बीएएलएलबी पढाउने, ४० सिटका लागि आवेदन माग

केन्द्रबिन्दु
28
Shares

काठमाडौँ । हेराल्ड एजुकेशन नेटवर्कबाट सञ्चालित हेराल्ड ल स्कुलले यस वर्षदेखि कानुन संकायअन्तर्गत स्नातक तहमा बीएएलएलबी कोर्स पढाउन स्वीकृति पाएको छ ।

राजर्षि जनक विश्वविद्यालयको सम्बन्धनमा हेराल्डले यस वर्षदेखि ४० जना विद्यार्थीलाई बीएएलएलबी पढाउने भएको हो ।

काठमाडौँको बसुन्धारास्थित हेराल्ड एजुकेशन नेटवर्कले प्ले ग्रुपदेखि स्नातक तहसम्म अध्ययन तथा अध्यापन गराइरहेको छ । हेराल्डमा कक्षा ११ मा विज्ञान, मानविकी, व्यवस्थापन र कानुन संकाय सञ्चालन भइरहेको छ । स्नातक तहमा पनि यो वर्षदेखि बीएएलएलबी कोर्स सुरु गरिएको हो ।

पछिल्लो समय कानुनी शिक्षा विद्यार्थीहरूको रोजाइको विषय बनेको छ । कानुनमा स्नातक अध्ययनका लागि एलएलबी र बीएएलएलबी गरी दुई वटा कार्यक्रम छन् । एलएलबी अध्ययनका लागि कुनै पनि एक विषयमा स्नातक पास गरेको हुनुपर्छ भने बीएएलएलबीका लागि कुनै पनि संकायमा कक्षा १२ उत्तीर्ण भएको हुनुपर्छ ।

कानुनमा स्नातक अध्ययनका लागि अहिले निकै ठूलो प्रतिस्पर्धा हुने गरेको छ । यसमध्ये पनि बीएएलएलबी कोर्ष विद्यार्थीहरूको विशेष रोजाइ बन्ने गरेको छ । सीमित कोटा र प्रतिस्पर्धाका कारण चाहेर पनि धेरैले कानुन पढ्न नपाइरहेको अवस्थामा हेराल्डले यो कोर्स पढाउन सुरु गरेको हो ।

कानुनी शिक्षामा विद्यार्थी र अभिभावकहरूको बढ्दो आकर्षणलाई ध्यान दिँदै यो शैक्षिक शत्रबाट बीएएलएलबी कोर्स सुरु गरिएको हेराल्ड एजुकेशन नेटवर्कका अध्यक्ष कपिल ज्ञवालीले जानकारी दिए । अध्यक्ष ज्ञवालीका अनुसार अहिले हेराल्ड ल स्कुल बसुन्धाराबाट प्रवेश परीक्षाको फारम वितरण भइरहेको । आगामी असोज १२ गते शनिबार दिउँसो ३ः३० बजेदेखि साँझ ५ः३० बजेसम्म प्रवेश परीक्षा सञ्चालन हुनेछ । प्रवेश परीक्षा उत्तीर्ण हुने उत्कृष्ट ४० जनाले यो शैक्षिकसत्रमा भर्ना हुन पाउने छन् ।

उपयुक्त र आधुनिक प्रविधियुक्त शैक्षिक वातावरणमा अनुभवी प्राध्यापकहरूबाट पढाइ हुने हेराल्डको नतिजा पनि उत्कृष्ट रहेको छ । हेराल्डले उत्कृष्ट शैक्षिक क्रियाकलापसँगै विद्यार्थीहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रकारका अतिरिक्त क्रियाकलाप र खेलकुदमा विशेष जोड दिँदै आएको छ ।

Logo