दोस्रो ‘बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जरभेसन अवार्ड २०२४’ कार्यक्रम सम्पन्न

दोस्रो ‘बब एण्ड ज्याङ जेभियर एकेडेमी कन्जरभेसन अवार्ड २०२४’ कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
70
Shares

काठमाडाैं । वातावरण संरक्षणमा लामो समयदेखि कार्यरत अमेरिकी एक दम्पती बब डोबेज र ज्याङ डोबेज (बब एण्ड ज्याङ) र जेभियर एकेडेमीको संयुक्त आयोजनामा दोस्रो ‘बब एण्ड ज्याङ’ जेभिएर एकेडेमी कन्जरभेसन अवार्ड २०२४’ कार्यक्रम सम्पन्न भएको छ ।

जेभियर एकेडेमीका अध्यक्ष प्रा.डा. श्रीरामभगत माथे र प्रा.डा. प्रमोद श्रेष्ठको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

यस वर्ष ‘बब एण्ड ज्याङ, जेभिएर कन्जरभेसन अवार्ड २०२४’ को विजेता मनाङका हिउँचितुवा संरक्षक टासी राप्ती घलेले जिते । सो अवार्डसँगै उनले एक लाख रुपैयाँ पनि प्राप्त गरेका थिए । कार्यक्रममा अघिल्लो वर्ष ‘बब एण्ड ज्याङ, जेभियर कन्जरभेसन अवार्ड २०२३’ जित्न सफल ५०० भन्दा बढी चराको आवाज निकाल्न सक्ने र विगत १६ वर्षदेखि वातावरण जोगाउने कार्यमा निरन्तर योगदान दिँदै आएका चितवनका विष्णु महतो पनि उपस्थित थिए ।

कार्यक्रममा अघिल्लो वर्ष ‘बब एण्ड ज्याङ कम्युनिटी बेस प्रोजेक्ट प्रस्तुत गरेका छात्रद्वय अंशु ढकाल र अर्सना आचार्य तथा यस वर्षका प्रोग्राम को–अर्डिनेटर आर्यमान घिमिरेलाई प्रशंसापत्र प्रदान थियो ।

कार्यक्रममा बोल्दै बबले जेभिएर एकेडेमीसँग जोडिन पाएकोमा आभार व्यक्त गरे ।

सो अवसरमा जेभियर एकेडेमीकी प्रिन्सिपल रश्मी शर्मा मैनालीले ‘बब एण्ड ज्याङ’ प्रोग्राममा आफू पनि सहभागी हुन पाएकोमा धन्यवाद व्यक्त गरिन् । यसैगरी उनले ‘बब एण्ड ज्याङ’ले थाइल्याण्डमा मात्र नभएर नेपालमा पनि गर्दै आएको सहयोगको प्रशंसा पनि गरिन् ।

अमेरिका र थाईल्याण्डमा बसोबास गर्दै आएका बब ज्याङको दम्पती नेपालमा सन् १९७० मा आएका थिए । नेपालप्रतिको लगाव बढ्दै जाँदा बब ज्याङ दम्पतीले शिक्षा क्षेत्रमा केही गरौं भनेर सन् २०१७ छात्रवृत्ति कोषको स्थापना गरेका थिए । बब ज्याङ दम्पतीले स्थापना गरेको छात्रवृत्ति कोर्षबाट हरेक वर्ष एउटा छात्रले निःशुल्क कक्षा ११ र १२ पढ्न पाउँछन् । तर त्यसका लागि बब ज्याङ दम्पतीले जेहेन्दार र निम्न वर्गका विद्यार्थीहरु हुनुपर्ने शर्त राखेका छन् । यदि दुई जना विद्यार्थी उस्तै गुण भएको खण्डमा भने ५०–५० प्रतिशत छात्रवृत्ति दिने र बाँकी कलेजले ब्यहोर्ने नियम राखिएको छ । यस वर्षको छात्रवृत्ति दसैंलगायत चाडपर्व र अन्य विभिन्न कारणवस सबै विद्यार्थीहरुले आफ्नो प्रोजेक्टहरु बुझाउने क्रम जारी भएकाले हाललाई विजेता घोषणा गरिएको छैन ।

Logo