फेरि स्थायी परीक्षा गर्न अस्थायी शिक्षकको माग, कडा आन्दोलनको चेतावनी

फेरि स्थायी परीक्षा गर्न अस्थायी शिक्षकको माग, कडा आन्दोलनको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अस्थायी/करार शिक्षक केन्द्रीय संघर्ष समितिले आन्तरिक परीक्षाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । समितिले शनिबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरि उमेरको हदबन्दी नलगाई सम्पूर्ण अस्थायी, करार तथा विविधकारणले आन्तरिक परीक्षाबाट बञ्चित सबै शिक्षकलाई पुनः आन्तरिक परीक्षाको व्यवस्था मिलाउन सरकारसँग माग गरेको हो ।

समितिले सेवाबाट अवकास लिन चाहने शिक्षकहरुलाई औषधी उपचारको एकमुष्ट रकम सहित स–सम्मान विदा गर्न पनि आग्रह गरेको छ ।

अस्थायी/करार शिक्षकहरुले माग पुरा नभए आगामी २९ गते देखि मुलुकभरका विद्यालयबाट शिक्षकहरुलाई राजधानी झिकाई दबाबमुलक आन्दोलन गर्ने चेतावनी दिएका छन् । संघर्ष समितिका संयोजक हेमनाथ चौलागाईले सरकारले आफुहरुको माग सम्बोधन नगरे आन्दोलमा उत्रने चेतावनी दिए ।

संघर्ष समितिले माग सम्बोधनका लागि सरकारलाई दबाब दिन आगामी फागुन २ गते सत्तारुढ दल नेकपाको कार्यालयमा धर्ना दिने कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

कार्यक्रममा समितिका बरिष्ठ उपाध्यक्ष गोपाल बहादुर बस्नेतले सरकारले आफूहरुले उठाएका जायज माग पूरा नगरे यसअघि सार्वजनिक गरिएका आन्दोलनका कार्यक्रमहरुलाई जारी राख्ने चेतावनी दिए । उनका अनुसार समितिले यही माघ २९ गते देशैभरिका सामूदायिक विद्यालय बन्द गर्ने कार्यक्रम रहेको छ ।

बस्नेतले अघि थपे,‘आन्दोलनलाई सशक्त बनाउनको लागि हामीले ७७ वटै जिल्लाबाट साथीहरुलाई काठमाडौं बोलाएका छौं । माघ २९ गते विहान १० बजे काठमाडौंको भ्रदकालीमा भेला भएर नयाँ बानेश्वरसम्म जुलुश तथा र्‍याली निकाल्ने कार्यक्रम छ।’

समितिका सहसंयोजक प्रविण न्यौपानेले सरकारले १७ वर्षसम्म पनि शिक्षक सेवा आयोग नखोलेर आफूहरुलाई अन्याय गरेको आरोप लगाए । न्यौपानले सरकारले विज्ञापन गर्दा विभेद गरेको पनि आरोप लगाए । उनले आफूहरुको उर्जाशील समय शिक्षण पेशामा खर्च भएको र अहिले आएर आफूहरुलाई विस्थापित गर्न खोजिएकोमा पनि कडा आपत्ति जनाए ।

कार्यक्रममा समितिका केन्द्रिय सदस्य शिव अधिकारीले आफूहरु अनशनमै बसेको बेला र अदालतमा मुद्दा चलिरहेकै अवस्थामा सरकारले बलपुर्वक आन्तरिक परीक्षा लिएको भन्दै कडा असन्तुष्टी पोखे ।

अधिकारीले भने,‘स्नातकोत्तरमा फष्ट डिभिजन ल्याएको र सबै विद्यार्थीलाई ए प्लस श्रेणीमा पास गराउन सफल हामी शिक्षकहरु राज्यको नजरमा कसरी अयोग्य र असक्षम भयौं ? म प्रश्न गर्न चाहन्छु ।’

Logo