छुट अस्थायी करार शिक्षकहरु आन्दोलनको तयारीमा

छुट अस्थायी करार शिक्षकहरु आन्दोलनको तयारीमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । २०७२ सालपछि नियुक्ती पाएका अस्थायी करार शिक्षकहरुले आन्दोलनको तयारी थालेका छन् । आफुहरुलाई पनि आन्तरिक परीक्षाको मौका दिनुपर्ने माग राख्दैं आएका देशभरका करिब १३ हजार अस्थायी करार शिक्षकहरुले आन्दोलनको तयारी थालेका हुन् ।

२०७२ असोज २ गतेपछि नियुक्त भएका अस्थायी करार शिक्षकहरुले अघि सारेको ३ बुँदे मागप्रति राज्य मौन देखिएको भन्दै आन्दोलनको तयारी थालेका हुन् ।

छुट अस्थायी करार शिक्षकहरुले नेपालको संविधानको मौलिक हक अन्र्तगत धारा (१८) को समानताको हक र धारा (३३) को रोजगारिताको हक बमोजिम २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकलाई सेवाबाट विस्थापित गर्नबाट जोगाएर रोजगारीको हकको सुनिश्चत गरिनुपर्ने, नवौं ऐन बमोजिम अस्थायी शिक्षक सरह २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकलाई पनि संघीय शिक्षा ऐनमा आन्तरिक परिक्षामा सामेल गरिनुपर्ने माग राखेका छन् ।

त्यस्तै अस्थायी करार शिक्षकले उमेरहदका कारण खुल्ला परीक्षामा सम्मेलित हुन नपाएको र खुला परीक्षाको नतिजासँगै विस्थापित हुनेभएकोले विस्थापित हुनबाट जोगाएर संघीय शिक्षा ऐनमा आन्तरिक परीक्षाको व्यवस्था गरिनुपर्ने, आन्तरिक परीक्षाबाट विस्थापित अस्थायी शिक्षकलाई सेवा निरन्तरता हुनुपर्ने तथा नवौं ऐन बमोजिमको गोल्डेन हेनचेकको व्यवस्था गरिनुपर्ने लगायतका उनीहरुको माग छ ।

शिक्षक ऐनको नवौं संशोधन समेतले २०७२ असोज २ पछि नियुक्त अस्थायी करार शिक्षकलाई आन्तरिक परीक्षाबाट बञ्चित गराउनुका साथै उक्त पदमा खुल्ला विज्ञापन गरिएको थियो । छुट अस्थायी करार शिक्षकहरुले संघर्ष समिति बनाएर देशब्यापी आन्दोलनको तयारी थालेका हुन् ।

उनीहरुले खुल्ला विज्ञापनको नतिजा प्रकाशनसँगै रोजिरोटी गुम्ने खतरा बढेको भन्दै आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउनुपर्ने माग अघि सारिएको छुट अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिका अध्यक्ष हरिवंश पराजुलीले जानकारी दिए ।

उनीहरुले पुष १५ गते विरोध र्‍यालीको आयोजना गरिएको थियो । त्यस्तै पुस १६ गते नेपाल शिक्षक महासंघलाई ज्ञापनपत्र बुझाएपछि महासंघले आफ्नो मुद्दा बनाएको थियो । शिक्षक सेवा आयोगले गत असारमा २०७२ असोज ३ भन्दा पहिला नियुक्त भएका अस्थायी शिक्षकको लागी मात्र स्थायी परीक्षा लिएको थियो । त्यसपछि नियुक्त भएका शिक्षकहरुले आफुलाई अन्याय भएको भन्दै आन्दोलनमा होमिएका हुन् ।

छुट अस्थायी करार शिक्षकहरुको ३ बुँदे माग प्रति सकारात्मक हुँदैं एक कार्यदल गठन गरिएको थियो । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयको सहकार्याम गठन गरिएको कार्यदलले करार शिक्षकलाई सेवाबाट विस्थापित नगर्ने र आन्तरिक परीक्षाको अवसर दिने गरी मस्यौदा तयार पारेको थियो ।

उक्त मस्यौदामा शिक्षा मन्त्रालय नकारात्मक देखिएको थियो । साथै शिक्षा मन्त्रीले वार्ताको लागि पनि समय नदिएको भन्दै अध्यक्ष पराजुलीले शिक्षक कर्मचारीहरुको माग सम्बोधन नगर्ने मनसायका साथ शिक्षा मनत्रालय अघि बढेको आरोप लगाए । सरकारले अस्थायी शिक्षकको लागि एक पटक स्थायी बन्न परीक्षाको व्यवस्था गरेको छ ।

जसमा दरबन्दी भन्दा कम शिक्षक पास भएका छन् । फेल भएका शिक्षकहरुले गोल्डेन हेन चेक पाएर घर फर्किनेछन् । तर छुट अस्थायी करार शिक्षकहरु रित्तो हात घर फर्किनुपर्ने भन्दै आफुरुमाथि अन्याय भईरहेको पराजुलीको भनाई छ ।

छुट अस्थायी करार शिक्षकहरुले आन्दोलनको तयारी स्वरुप ७७ वटै जिल्लामा समिति गठन गरिएको छ । माघ २९ गते काठमाडौंमा उनीहरुले भेलाको आयोजना गरेका छन् ।

Logo