२२ हजार २ सय मध्ये ८ हजार अस्थायी शिक्षक असफल

२२ हजार २ सय मध्ये ८ हजार अस्थायी शिक्षक असफल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक असफल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुर्तीर्ण भएका हुन्। उनीहरुले पास हुन आवश्यक न्यूनतम ४० अंक पनि ल्याउन नसकेको शिक्षक सेवा आयोगले जनाएको छ ।

शिक्षा मन्त्रालयले ऐन नै संशोधन गरी अस्थायी शिक्षकलाई स्थायी गर्न गत असारमा परीक्षा लिईएको थियो । कतिपय शिक्षक अनुर्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन्।

आयोगले लिने अन्तर्वार्तामा अझै केही शिक्षक फालिने शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा. तुलसीप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार करिब १ हजार शिक्षक छाँटिने सम्भावना छ ।

आयोगले गत असारमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गर्ने क्रम १ महिना १२ दिनमा सकिएको छ । आयोगले गत मंसिर १० गतेबाट लिखितको नतिजा सार्वजनिक गर्न शुरु गरेको थियो ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको तिनै तहमा गरी २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

जसमा प्राविका लागि आवश्यक १६ हजार ५ सय ३२ पदका लागि १५ हजार ६ सय ९० जना मात्रै परीक्षामा सहभागी भएका थिए । निमाविका लागि आवश्यक ३ हजार २ सय ३४ पदका लागि ३ हजार ५ सय ७५ जनाले प्रतिस्पर्धा गरेका छन् । यस्तै २ हजार ३ सय १० पद रहेको मावि तहमा २ हजार ९ सय ७० जनाले प्रतिस्पर्धा गरेका थिए ।

उक्त नतिजामा चित्त नबुझेका अस्थायी शिक्षकले पुस २८ गते सम्म पुर्नयोगको फारम भर्न सक्ने छन् । उनीहरुको अन्तर्वाता माघ २ र ३ गते हुने प्रशासकीय प्रमुख थपलियाको भनाई छ ।

Logo