२५ हजार घुस मागेर कपी परीक्षण गर्ने त्रिविका दुई विशेषज्ञ पक्राउ

२५ हजार घुस मागेर कपी परीक्षण गर्ने त्रिविका दुई विशेषज्ञ पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्ने दुई जना पक्राउ परेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कीर्तिपुर नेसनल आयुर्वेद रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा कार्यरत एक विशेषज्ञसहित दुईजना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ट्रेनिङ सेन्टरमा करार सेवामा कार्यरत कालिकोटका २८ वर्षीय खेमराज शाही र अर्जुन भाट रहेका छन् । उनीहरूलाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका शाही र भाटले यसअघि पनि विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । विद्यार्थी खोजी र रकमको बार्गेनिङ भाटले गर्थे । उत्तरपुस्तिकाको सिम्बल नम्बरसहित संकलन भएको रकम भाटले शाहीलाई बुझाउने गर्थे ।

कपी परीक्षण गर्दा केही नम्बर थप गरेरै विद्यार्थी उत्तीर्ण हुनेजस्तो देखिए सबै काम शाही आफैँ गर्थे । उत्तरपुस्तिका नै अर्को लेख्नुपर्ने स्थिति देखिए प्रश्नपत्र हेरेर लेख्ने काम भाटले गर्थे । यसका लागि विश्वविद्यालयको होलोग्राम, सम्बन्धित अधिकारीको हस्ताक्षरदेखि दुरुस्तै देखिने कपीको व्यवस्था शाहीले गरिदिन्थे ।

उनीहरूले विशेषगरी सुदूरपश्चिम र मध्यपश्चिम क्षेत्रका विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गर्दै आएका थिए । प्रतिविद्यार्थी २५ हजार रुपैयाँ उठाएका थिए ।

एक महिनाअघि मात्रै उनले विश्वविद्यालयबाट कपी परीक्षण गर्न ल्याएका थिए । यस क्रममा उनले १० भन्दा बढी विद्यार्थीसँग रकम असुलेर कपी परीक्षण गरेर सम्बन्धित निकायलाई बुझाइसकेका थिए ।

Logo