‘चिकित्सा शिक्षा विधेयक’ का विषयमा गोविन्द केसीसँग पुनः छलफल गरिने (भिडियोमा)

‘चिकित्सा शिक्षा विधेयक’ का विषयमा गोविन्द केसीसँग पुनः छलफल गरिने (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ का विषयमा वरिष्ठ चिकित्सक गोविन्द केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको छ ।

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले विधेयकको केही व्यवस्थामा थप स्पष्टता आवश्यक रहेको निष्कर्ष निकाल्दै वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्ने निर्णय गरेको हो ।

विधेयकको केही प्रावधानमा स्पष्टता ल्याउन पनि वरिष्ठ चिकित्सक केसीसँग एक पटक पुनः छलफल गर्ने निर्णय गरिएको समितिका सदस्य एवम् काँग्रेस सांसद गगनकुमार थापाले जानकारी दिए ।

समितिले सो विधेयक सरकार र वरिष्ठ चिकित्सक केसीबीच भएको सहमति अनुसार अघि बढाउने गरी उपसमिति बनाएर छलफल गरिरहेको छ । सोही छलफलमा उठेका केही विषयमा स्पष्ट हुन समितिले वरिष्ठ चिकित्सक केसीसँग पुनः छलफल गर्न लागेको हो ।

समितिका अर्का सदस्य एवम् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले केसी र सरकारबीच भएको सहमति अनुसार अघि बढ्दा १० वर्षसम्म नै नेपालको कुनै पनि ठाउँमा मेडिकल कलेज खुल्ने अवस्था नरहेकाले सो सम्बन्धमा सम्बन्धित पक्षसँग पुनः छलफल गर्ने निर्णय गर्नु परेको स्पष्ट पारे ।

वरिष्ठ चिकित्सक केसीसँग गरिएको सहमतिमा ३ सय ५० बेडको अस्पतालले मात्रै नयाँ मेडिकल कलेज स्थापनाका लागि सम्बन्धन दिन पाउने उल्लेख गरिएको छ । सो प्रस्तावले नयाँ मेडिकल कलेज खोल्न १० वर्ष लाग्ने सरकार र संसदीय समितिको निष्कर्ष छ ।

समितिले संघीय संसदको हिउँदे अधिवेशनको सुरुमै पारित गराउने गरी सो विधेयक संघीय संसदमा पेश गर्ने तयारी पनि गरेको छ । सो विधेयक वरिष्ठ चिकित्सक केसीसँग भएको सहमति अनुसार नै अघि बढाउने समितिको तयारी छ ।

Logo