विश्वविद्यालय तथा प्रतिष्ठानमा छात्र भन्दा छात्राको संख्या बढी

विश्वविद्यालय तथा प्रतिष्ठानमा छात्र भन्दा छात्राको संख्या बढी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

नेपाली युवा बिदेसिने दर बढ्दो छ  । १२ कक्षासम्मको अध्ययनपछि अधिकांश युवा थप अध्ययन या रोजगारीका लागि विदेश पस्ने लहरै चलेको छ ।

कोही अध्ययनलाई बिट मार्दै रोजगारीका लागि खाडी मुलुकतिर भासिने गरेका छन्  । कोही अध्ययनसँगै रोजगारी मिल्ने आसमा युरोप, अमेरिकातिर होमिने गरेका छन्  । यो लहरमा छात्र अत्याधिक छन् भने तुलनात्मक रूपमा छात्रा निकै कम । यसको प्रतिबिम्ब देशका विश्वविद्यालयमा पनि देखिएको छ । देशभित्रै उच्च शिक्षा अध्ययन गर्ने छात्र भन्दा छात्राको संख्या बढी देखिएको छ ।

नेपालमा एक वर्षमा ५० देखि ६० हजार विद्यार्थी अध्ययनका लागि विदेश जाने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार आव ०७४/७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीले विदेशमा अध्ययनका लागि नो अब्जेक्सन लेटर लगेका छन् । आव ०७३/७४ मा ५० हजारले अनुमतिपत्र लगेका थिए । आव ०७५/७६ को चार महिनामा २२ हजारले नो अब्जेक्सन लेटर लगेका छन् ।

विश्वविद्यालय अनुदान आयोगको पछिल्लो तथ्यांक अनुसार देशभरका विश्वविद्यालयमा छात्र भन्दा छात्राको संख्या धेरै छ । कुल विद्यार्थी संख्याको ५३ प्रतिशत छात्रा छन् । ३ लाख ७१ हजार १ सय ८४ विद्यार्थीमा १ लाख ९५ हजार १ सय ३३ छात्रा रहेको आयोगको तथ्यांक छ । यसरी हेर्दा छात्र भन्दा १९ हजार ८२ छात्रा बढी देखिन्छ । देशभरमा ११ वटा विश्वविद्यालय सञ्चालनमा छन् ।
नयाँ पत्रिकाबाट

Logo