प्राविधिक विषय पढार्इ हुन थालेपछि त्रिविमा विद्यार्थी सङ्ख्या बढ्यो

प्राविधिक विषय पढार्इ हुन थालेपछि त्रिविमा विद्यार्थी सङ्ख्या बढ्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

केही वर्ष विद्यार्थीको सङ्ख्यामा कमि आएको त्रिभुवन विश्वविद्यालयमा भर्ना दर फेरि बढेको छ । त्रिविमा प्राविधिक विषय पढार्इ हुन थालेपछि पुनः विद्यार्थी सङ्ख्यामा वृद्धि हुन थालेको हो ।

त्रिविमा अहिले विज्ञान, व्यवस्थापन र मानविकि सङ्कायमा नयाँ प्राविधिक विषयको पठनपाठन हुन थालेपछि भर्ना दर बढेको त्रिविका योजना निर्देशनालयका प्रमुख प्रा डा ऋदिशकुमार पोखरेलले जानकारी दिए ।

त्रिविमा शैक्षिक सत्र २०६९/७० देखि लगातार तीन शैक्षिक सत्रसम्म विद्यार्थी भर्ना घटेकोमा त्यसपछि भने बढेको पाइएको छ । शैक्षिक सत्र २०७२/७३ देखि लगातार अहिले विद्यार्थी सङ्ख्या बढेको उनले जानकारी दिए । शैक्षिक सत्र २०७१/७२ मा दुई लाख ९८ हजार ९९० विद्यार्थी सङ्ख्या भएकोमा शैक्षिक सत्र २०७२/७३ मा विद्यार्थी सङ्ख्या तीन लाख ६० हजार २५४ पुगेको छ ।

मानविकि तथा सामाजिक शास्त्र सङ्कायका डीन प्रा डा शिवलाल भुसालले नयाँ शैक्षिक कार्यक्रमले गर्दा पछिल्लो चरणमा मानविकि सङ्काय पढ्ने विद्यार्थी बढेको बताए । उनका अनुसार स्नाकोत्तर तह द्वन्द्व, शान्ति र व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीति, सामजिक कार्य, परामर्श मनोविज्ञान, खेलकूद विज्ञान, पर्यटन तथा आतिथ्य र स्नातक तह ब्याचलर अफ कम्प्युटर अप्लिकेशन (बिसिए) , सामाजिक कार्य (विएसड्ब्लु) जस्ता विषय पढाइ हुन थालेका छन् ।

मानविकी सङ्कायमा अर्थशास्त्र, राजनीतिक शास्त्र, सामाजिक शास्त्र र ग्रामीण विकासमा विद्यार्थीको सङ्ख्या पहिलेकै तुलनामा यथावत भएपनि नेपाली, इतिहास, भाषा विज्ञान जस्ता विषयमा विद्यार्थी सङ्ख्या घटेको डीन भुसालले जानकारी गराए । नयाँ नयाँ कार्यक्रमले व्यवस्थापन सङ्कायमा विद्यार्थी सङ्ख्या घटेका छैनन् । व्यवस्थापन सङ्कायका डीन प्राडा डिल्लीराम शर्माले सेमेष्टरका कारण स्नातकोत्तर तहमा विद्यार्थी घटे पनि स्नातक तहमा भने बढेको बताए ।
रासस

Logo