काठमाडौंकै ८० प्रतिशत सामुदायिक विद्यालयका शिक्षक ‘हाटा’ अर्थात हाजिर गर्दै टाप कस्दै !

काठमाडौंकै ८० प्रतिशत सामुदायिक विद्यालयका शिक्षक ‘हाटा’ अर्थात हाजिर गर्दै टाप कस्दै !

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
सरकारी कर्मचारीबीच बोलीचालीमा एउटा शब्द प्रचलित छ– हाटा । हाटा अर्थात् हाजिर गर्दै, टाप ठोक्दै । बोलीचालीमा मात्रै होइन, व्यवहारमा समेत कर्मचारीले हाटा गर्छन् । काठमाडौं महानगरमा त ८० प्रतिशत शिक्षक हाटा पाइएका छन् ।

महानगरको शिक्षा विभागले गरेको अनुगमनमा सामुदायिक विद्यालयका अधिकांश शिक्षक कक्षामै अनुपस्थित भेटिए । महानगरभित्रका केही सामुदायिक विद्यालयमा हाजिर गरे पनि विद्यार्थी नपढाएको भेटिएको हो । विभागले गरेको छड्के अनुगमनमा शिक्षकहरू विद्यालयमा हाजिर हुने प्रवृत्ति अत्यन्त न्यून रहेको, हाजिर भए पनि विद्यालयमा नभएको तथा विद्यालयमा हुँदा समेत पूरा समय कक्षामा नबसेको पाइयो ।

शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार अनुगमन गरिएका विद्यालय मध्ये केहीमा ८० प्रतिशतसम्म शिक्षक अनुपस्थित भेटिए । विभागले आधादर्जन भन्दा बढी स्कुलमा अनुगमन गरेको थियो । ती विद्यालयमा २३ जना शिक्षक अनुपस्थित भेटिए । अनुगमन गरिएका विद्यालयको नाम भने खुलाइएको छैन ।

‘कुनै एक विद्यालयमा कक्षा नौ र दशको पढाइ बिहान हुँदो रहेछ । बिहान ६ बजेर तीस मिनेटमा स्कुल सुरु हुनुपर्ने रुटिन बने पनि साढे सात बजेसम्म पनि शिक्षकहरू देखेनौं’, कोइरालाले भने, ‘हामी जाँदा दुई चार विद्यार्थी खेलिरहेका थिए । विद्यालय आउनु पर्ने शिक्षक मध्ये असी प्रतिशत अनुपस्थित थिए ।’

अरु स्कुलको अवस्था पनि उस्तै रहेको कोइरालाले बताए । विद्यालय निरीक्षक, स्रोत व्यक्ति र आफूसमेत अनुगमनमा जाँदा यस्तो पाइएको उनले जानकारी दिए । अनुगमनमा आउने अग्रिम सूचना दिंदा विद्यालय प्रशासन सतर्क हुन्छ भन्ने अनुमानमा टोलीले छड्के जाँच गरेको थियो ।

शिक्षक नदेखेपछि प्रधानाध्यापक मार्फत ती शिक्षकलाई २४ घण्टे स्पष्टिकरण पठाइएको छ । स्पष्टिकरण चित्त नबुझे विभागीय कारवाही गर्ने महानगरको तयारी छ । महानगरपालिकाभित्र ९१ वटा सामुदायिक विद्यालय सञ्चालित छन् ।
अन्नपूर्णबाट

Logo