काठमाडौँ

कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन् । "/>

पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनद्वारा छुट्टा छुट्टै तालाबन्दी

पूर्वाञ्चल विश्वविद्यालयमा विभिन्न विद्यार्थी संगठनद्वारा छुट्टा छुट्टै तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

कर्मचारी नियुक्तिमा अनियमितता गरेको भन्दै अनेरास्ववियु र नेविसंघले पूर्वाञ्चल विश्वविद्यालयमा छुट्टाछुट्टै तालाबन्दी गरेका छन् । अनेरास्ववियु र अखिल क्रान्तिकारीले एक महिना देखि र नेविसंघले एक सातादेखि तालाबन्दी गरेका हुन् ।

कर्मचारी नियुक्तिमा धाँधली भएको भन्दै अनेरास्ववियु र अखिल क्रान्तिकारीले सेवा आयोग र उपकुलपति कार्यालयमा तालाबन्दी गरेका छन् । नेविसंघले भने उच्च तहका कर्मचारी नियुक्तिमा नातावाद लगाएको भन्दै उपकुलपति, रजिस्ट्रार, आर्थिक प्रशासन र सबै संकायको डिन कार्यालयमा तालाबन्दी गरेको छ ।

अनेरास्ववियु र अखिल क्रान्तिकारीले कर्मचारी खुल्ला नियुक्ति गर्न आवेदन बापत लिएको पैसा फिर्ता गर्नुपर्ने, जथाभावी कर्मचारी नियुक्तिको छानबिन हुनुपर्ने, विद्यार्थी नै नभएको कार्यक्रममा भएको कर्मचारी नियुक्ति खारेज हुनुपर्ने माग राखेका छन् । नेविसंघले चिकित्सा संकायका डिन डा शैलेशमणि पोखरेल र गोठगाउँस्थित शिक्षण अस्पतालका निर्देशक डा विपेस आचार्यको नियुक्ति खारेज हुनुपर्ने माग गरेको छ ।

तालाबन्दी गर्ने संगठनहरूसँग विश्वविद्यालयले पटक–पटक वार्ताको प्रयास गरे पनि सफल भएको छैन । ‘अनियमितता भएमा विधि र प्रक्रिया अनुसार न्याय खोज्न सकिने भए पनि राजनीतिक पूर्वाग्रहले तालाबन्दी गरेर विश्वविद्यालयलाई बदनाम गराउने प्रयास भएको छ,’ एक कर्मचारीले भने ।

तालाबन्दी भए पनि उपकुलपति, रजिस्ट्रार र डिनहरूले बाहिरै बसेर काम गरिरहेको केन्द्रीय कार्यालयका प्रवक्ता तथा समन्वय महाशाखा प्रमुख राजेश झाले बताए । तालाबन्दीले कामकाजमा असर नपरे पनि विश्वविद्यालयको बदनाम भएको उनको भनाइ छ । झाले भने, ‘महत्वपूर्ण काम सम्पन्न गर्ने वेलामा पदाधिकारी, आर्थिक प्रशासन शाखा र डिनको कार्यालयमा तालाबन्दी हुँदा राम्रो सन्देश जाँदैन ।’
नयाँ पत्रिकाबाट

Logo