काेराेना महामारीपछि नेपथ्यको पहिलो विदेश भ्रमण दुबईमा

काेराेना महामारीपछि नेपथ्यको पहिलो विदेश भ्रमण दुबईमा

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीपछि पहिलो विदेश कार्यक्रमका लागि नेपथ्य ब्याण्ड दुबई जाने भएको छ । 

आगामी नोभेम्बर ६ तारिख (कात्तिक २० गते) ब्याण्डले दुबई  शहरमा तेश्रो पटक प्रस्तुति दिन लागेको हो । चाडबाडको बेलामा आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपालीहरूका लागि दशैं, तिहार र छठको समेत संगीतमय कोसेली बोकेर ब्याण्ड त्यसतर्फ जान लागेको हो । विश्व बजारकै महत्वपूर्ण थलो बन्दै गइरहेको दुबई शहर नेपाली कामदारको प्रमुख गन्तब्य मुलुकमध्येको युनाइटेड अरब इमिरेट्सको ब्यापारिक केन्द्र पनि हो । यस शहरमा आयोजित अघिल्ला कन्सर्टहरूको बेला अन्य शहरहरु विशेषगरि आबुधाबी, सारजहाँ र रासअल खेमाबाट पनि नेपाली दर्शक उल्लेख्य संख्यामा उपस्थित भएका थिए ।

अघिल्ला पटक झैं यसपाली पनि दुबईस्थित ‘अल नासेर लिजरल्याण्ड’ मै ब्याण्डको प्रस्तुती हुँनेछ ।
नेपथ्यले २०१५ को महाभूकम्प लगत्तै यस सहरमा प्रस्तुत गरेको थियो । पूर्व निर्धारित कार्यक्रम भएकैले शोकका वेला पनि उपस्थिती जनाउन पुगेको नेपथ्यले त्यतिबेला दुबई कन्सर्टबाट प्राप्त रकममध्येबाट निश्चित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोगार्थ जम्मा गरेको थियो । ‘त्यो बेला शोककै क्षणमा आयोजित भएता पनि झण्डै दुइ हजार दर्शक उपस्थित भएका थिए,’ गायक अमृत सम्झन्छन्, ‘त्यो कन्सर्टकै भिडियो रेकर्डमा आधारित रहेर हामीले ‘कोशीको पानी यो जिन्दगानी’को म्यूजिक भिडियो पनि तयार पारेका थियौं।’ त्यसको चार वर्षपछि सन् २०१९ को मार्च महिनामा दोश्रो पटक नेपथ्य दुबई पुगेको थियो।

कन्सर्टको टिकट दुबई लगायत आसपासका क्षेत्रहरुमा समेत उपलब्ध गराइएको छ । स्थानीय आयोजकका अनुसार दुबईमा हुने नेपथ्य कार्यक्रमको टिकटको मूल्य ५० तथा १०० दिराम राखिएको छ । कार्यक्रमको लागि अनलाइन ( https://ae.bookmyshow.com/events/nepathya-live-2022/ET00009197) मार्फत पनि टिकट काट्ने व्यवस्था गरिएको छ। 

Logo