विश्वका सबै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाडौंः निर साह

विश्वका सबै चलचित्र एकै ठाउँमा हेर्न सकिने स्थान काठमाडौंः निर साह

केन्द्रबिन्दु
0
Shares

अभिनेता तथा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सम्बन्धी कार्यक्रमलाई बोर्डले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । 

बुधवार काठमाडौंमा एक कार्यक्रमबीच छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष केसीले यस्तो बताएका हुन् । उनले छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवलाई सफल बनाउन बोर्डले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । 

उनले चलचित्र क्षेत्रका हकहीतसम्बन्धी विषयमा सरकार र सबै क्षेत्र र सम्बन्धित निकायसम्म विकास बोर्डले आफ्ना मागहरु राखिरहने बताए ।  

कार्यक्रममा कलाकार निर्मल शर्माले अन्तर्राष्ट्रिय जगतमा नेपालमा पनि राम्रा चलचित्रहरु बन्छन् र नेपाल पनि एउटा चलचित्रका लागि उपयुक्त स्थान हो भन्ने परिचयका लागि महोत्सवले ठूलो भुमिका खेल्ने बताए । उनले डेडिकेटेड चलचित्रहरुलाई प्लेटफर्म दिएर सुरक्षित बनाउन आग्रह गरे । 

त्यस्तै अभिनेत्री दीपाश्री निरौलाले चलचित्र महोत्सव महोत्सव मात्रै नभइ कलाकर्मीहरुका लागि उर्जाको विषय भएको बताइन् । साथै अभिनेत्री गौरी मल्लले महोत्सवमा नेपाली चलचित्रको बारेमा विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताइन् । उनले नेपाली चलचित्र र नेपालको कला संस्कृतिको प्रचार गर्नसके नेपाली चलचित्रहरुले विदेशमा स्थान पाउने र लुकेका प्रतिभाहरुको खोजि पनि चलचित्र महोत्सवबाट हुनुपर्ने बताइन् । 
 
कार्यक्रममा अभिनेता निर शाहले अन्तर्राष्ट्रिय स्तरका गुणात्मक चलचित्रहरु चयन गरेर नेपाली चलचित्रका बारेमा पनि विदेशीहरुलाई प्रचार गर्न सक्नुपर्ने बताए । उनले विश्वका धेरै चलचित्र एकै ठाउँमा बसेर हेर्न सकिने स्थान काठमाडौं रहेको बताए । नेपाल पनि राम्रा सिनेमा बनाउनसक्ने प्रशस्त सम्भावना भएको देश भएकोसमेत उनले बताए । 
 
त्यस्तै निफका अध्यक्ष केपी पाठकले यसवर्ष महोत्सवका लागि राम्रा चलचित्रहरुको चयन गरेको बताए। उनले फिल्ममेकरहरुबाट अघिल्ला महोत्सवहरुमा साउण्डको समस्या आउने गरेको गुनासो आएको भन्दै यसपटक सिनेमाहरु सिनेमा थिएटरबाटै देखाउने बताए । एउटा ठाउँमा मात्रै सिमित नगरी महोत्सवलाई उपत्यकाका तीन जिल्लामा नै प्रशारण गर्ने तयारी रहेको उनले बताए ।
 
छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आउँदो चैत्र २ गतेदेखि ६ गते (मार्च १६ देखि २०) सम्म हुनेछ ।

Logo