अभिनेत्री रश्मिकाको ‘डीपफेक’ भिडियो बनाउने पक्राउ

अभिनेत्री रश्मिकाको ‘डीपफेक’ भिडियो बनाउने पक्राउ

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री रश्मिका मन्दानाको ‘डीपफेक’ भिडियो बनाउने इमानी नविनलाई दिल्ली प्रहरीले पक्राउ गरेको छ।

दिल्ली प्रहरीको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्राटेजिक अपरेसन युनिट (आइएफएसओ) साइबर क्राइम युनिटले आन्ध्र प्रदेशबाट २४ वर्षका इन्जिनियर इमानी नविनलाई पक्राउ गरेको हो।

दिल्ली प्रहरीले गत नोभेम्बर १०, २०२३ मा यो मामलाको एफआईआर दर्ता गराएको थियो। प्रहरी लामो समयदेखि भिडियो बनाउनेको खोजीमा थियो । पक्राउ परेका नविन धेरै अघिदेखि कैयौँ साइबर क्राइमसँग जोडिएको मामलामा संलग्न रहँदै आएको प्रहरीले जनाएको छ।

आइएफएसओका डीसीपी हेमन्त तिवारीले एफआईआर दर्ता गरेपछि भिडियोको प्राविधिक जाँचमा निकै समय लागेको बताए। यो भिडियो पहिलोपटक ब्रिटिस इण्डियन युवतीले इन्स्टाग्राममा ९ अक्टोबर, २०२३ मा अपलोड गरेकी थिइन्। जसमा डीप फेकका माध्यमबाट रश्मिकाको अनुहार लगाएर १३ अक्टोबर, २०२३ मा अलग अलग सामाजिक सञ्जालको प्लेटफर्ममा शेयर गरिएको थियो।

प्रहरीले अनुसन्धानका क्रममा झण्डै ५ सय बढी सामाजिक सञ्जालका एकाउण्टमा यो भिडियो राखेको फेला पारेको छ। ती युवतीले सुरुमा राखेको इन्स्टाग्रामको एकाउन्ट डिलिट गरिएको पाइएपछि प्रहरीलाई अनुसन्धानमा समय लागेको थियो।

फेसबुकको सहयोगले डिलिट गरिएका एकाउन्टको डाटा रिकभर गर्न २ देखि ३ हप्ता समय लागेको थियो। आइएफएसओको टिम कैयौँ राज्यमा पुगेर अनुसन्धा गर्दा अन्ततः नविनलाई आन्ध्र प्रदेशको गुन्टूरबाट प्रहरीले पक्राउ गर्‍यो। प्रहरीले पक्राउ गरेपछि आफूले डीपफेक भिडियो बनाएको नवीनले स्वीकारेका थिए।

प्रहरीका अनुसार पक्राउ परेका नवीनले रश्मिकाको फ्यान पेज चलाउँथे। तर डेढ वर्षसम्म रश्मिकाको फ्यान पेज चलाएपछि पनि त्यो पेजमा ९० हजार मात्र फलोअर्स थिए। जहाँ डीपफेक भिडियो अपलोड गरेपछि १ लाख ८ हजार फलोअर्स पुगे। नवीनले आफूले भिडियो बनाउनुको उद्देश्य रश्मिकालाई हानी पुर्याउनु नरहेको दाबी गरेका छन्।

नवीनले आफूले मेडा मोनिटाइजेशनका माध्यमबाट पैसा कमाउन र फलोअर्स बढाउन चाहेको प्रहरीलाई बयान दिएका छन्। त्यसका लागि उनले युट्यूब च्यानलबाट भिडियो सम्पादनको कोर्स सिके र रश्मिकाको डीप फेक बनाए।

जब आरोपीले डीपफेक भिडियो राष्ट्रिय मुद्दा बनेर ठूला स्टारले पनि कारवाहीको माग गरे, त्यसपछि नवीन डराए। उनले डीप फेक पोस्ट डिलिट गरे र फ्यान पेजको नाम पनि फेरे। उनले आफ्नो फोनबाट पनि धेरै डाटा हटाएका थिए।

नवीनले चेन्नईबाट सन् २०२१ मा इलेक्ट्रोनिक्स र टेलिकम्युनिकेसनमा बीटेक गरेका छन्। उनले गूगल ग्यारेजबाट डिजिटल मार्केटिङको सर्टिफिकेट लिएका छन्।

गत नोभेम्बर २०२३ मा रश्मिकाको डीपफेक भिडियो भाइरल भएको थियो। जसमा एक महिला लिफ्टमा प्रवेश गर्दै गरेकी थिइन्, जो हेर्दा रश्मिका जस्तै देखिएकी थिइन्। ती महिला रश्मिका नभई जारा पटेल नामकी युवती थिइन्। जसको अनुहार फेरेर रश्मिाको अनुहार लगाइएको थियो।

Logo