‘दयारानी’ रिलिज नहुँदै निर्देशक गुरुङ भन्छन्- ‘डेढ वर्षभित्र सिक्वेल पनि आउँछ’

‘दयारानी’ रिलिज नहुँदै निर्देशक गुरुङ भन्छन्- ‘डेढ वर्षभित्र सिक्वेल पनि आउँछ’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गुरुङ फिल्मको निर्देशकका रुपमा चिनिएका अभिनेता तथा निर्देशक माओत्से गुरुङ यही माघ २६ गतेबाट दर्शकमाझ फिल्म ‘दयारानी’ लिएर आउँदैछन् । ‘दयारानी’ माओत्सेको निर्देशकीय ‘डेब्यू’ नेपाली फिल्म हो ।

लाहुरे परम्पराको पारिवारिक विरासतलाई त्यागेर अभिनय कर्ममा पाइला चालेका माओत्से फिल्मलाई लिएर उत्साहित छन् । निसन्तान दम्पतिको कथालाई प्रस्तुत गरिएको फिल्म ‘दयारानी’मा दयाहाङ राई र दीया पुनले प्रमुख भूमिका गरेका छन् ।

माओत्सेले फिल्मको सिक्वेलका लागि कथा तयार भएको खुलाए । ‘निर्माताले फिल्म बनाउने चासो दिएमा एक देखि डेढवर्षभित्र दयारानीको सिक्वेल आउँछ’, माओत्से भन्छन् ।

आफ्नो फिल्म अहिलेको परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक रहेको माओत्से बताउँछन् । उनले भने, ‘दयारानीले एउटा अहंकारी पुरुषको मनोविज्ञानलाई प्रस्तुत गर्छ । हाम्रा समाजमा केही पुरुष त्यस्ता छन्, जो आफ्ना कमीकमजोरीहरुको दोष अरुलाई थोपर्छन् । आफू कमजोर छु भन्ने मनोवृत्तिलाई उनीहरु स्वीकार्न चाहदैनन् । दयारानी त्यस्तै कथा हो ।’

फिल्मले पुरुषको अंहकारले एउटी महिलाले त्यसको दबाब झेल्नुपर्ने र आफ्नो खुशीसमेत त्याग्ने अवस्थामा पुगेको समाजको चित्रण आफ्ना पात्रमार्फत गर्ने जानकारी दिए ।

फिल्म ‘दयारानी’ पाँच वर्षअघि तयार भएको फिल्म हो । पाँच वर्षअघिको फिल्म भए पनि फिल्मको कथावस्तु अहिलेको परिप्रेक्ष्यमा पनि उत्तिकै सान्दर्भिक हुने माओत्से ठोकुवा गर्छन् ।

बाँसुरी फिल्मस् र माओत्से फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकारको पनि अभिनय छ ।

Logo