मनीषा लेख्छिन्-‘आफ्ना लागि समय दिइरहेकी छु’

मनीषा लेख्छिन्-‘आफ्ना लागि समय दिइरहेकी छु’

केन्द्रबिन्दु
168
Shares

मुम्बई। अभिनेत्री मनीषा कोइराला सामाजिक सञ्जालमा आफ्ना फ्यानहरुसँग कुराकानी गर्न निकै रुचाउँछिन्।

उनले हालैमात्र फ्यानसँग सामाजिक सञ्जालको अन्तरक्रियामा आफू हालका दिनमा के गरिरहेको छु भनेर जानकारी दिएकी छन्। तीन दशक बढीको करियरपछि अभिनेत्री मनिषाले आफूले आफूलाई समय दिइरहेको बताएकी छन्। उनले इन्स्टाग्राम एकाउण्टमा कैयौं फोटो शेयर गर्दै आफ्नो अवस्थाबारे लेखेकी हुन्।

‘धेरै मानिसहरु मलाई तपाईं के गर्दै हुनुहुन्छ? भनेर सोध्छन्। तर कहिलेकाहीँ यस्तो लाग्छ कि ५३ वर्षको उमेरमा मलाई फ्यानहरुले अब धेरै बढी काम गर्न सकिँदैन भनेर सोधे जस्तो लाग्छ’, उनी लेख्छिन्।

उनले आफूले जीवनमा फरक-फरक वस्तुका स्वाद चाखिरहेको उल्लेख गर्दै आफूलाई मनपरेको कुरा आफूले गरिरहेको उल्लेख गरेकी छन्। ‘कहिले कहिले केही गर्दिन्। आफ्ना कुकुर र बिरालाका साथ समय बिताउनुका अलावा किताब पढ्ने, संगीत सुन्ने र आध्यात्मिकतालाई समय दिएकी छु। जिमसँगै विश्व भ्रमणको पनि आनन्द लिन्छु’, उनले भनेकी छन्।

३० वर्षको करियरमा सय फिल्ममा काम गरेपछि उनले केही समय आफ्ना लागि पनि कमाएको अनुभव गर्न थालेकी छन्। क्यान्सरसँग युद्ध गरेकी मनीषाले भगवानको कृपाले राम्रा मानिसहरु आफ्नो वरपर रहेको बताएकी छन्। ‘म उनीहरुको प्रेम र देखभालमा डुबेकी छु। मैले जीवनका अधिकांश समय एक व्यस्त सहरमा एक्लै बिताएकी छु’, उनले लेखेकी छन्।

मनीषाको बुझाईमा एक्लो समयमा भगवानले आफ्नो बाटो बनाउँछन्। ‘मसँग मुठ्ठीभरमा असल साथी थिए, मेरो सम्झना मेरो हृदयका खजाना हुन्’,उनले लेखेकी छन्। मनीषाले सन् १९८९ मा नेपाली फिल्म ‘फेरी भेटौला’बाट अभिनयमा पाइला चालेकी थिइन्। बलिउडको हकमा भने उनले हिन्दी फिल्म ‘सौदागर’बाट अभिनय सुरु गरिन्।

उनले ‘१९४२ः ए लव स्टोरी’, ‘बम्बे’, ‘इन्डियन’, ‘गुप्तः द हिडन ट्रूथ’, ‘खामोशीः द म्यूजिकल’, ‘दिल से..’, ‘कच्चे धागे’ र ‘एक छोटी सी लव स्टोरी’ सहित कैयौं राम्रा फिल्ममा अभिनय गरिन्। उनी अब सञ्जय लीला भन्सालीको ‘हीरा मन्डी’मा देखिँदैछिन्।

Logo