कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिमी जस्तो साथी’ काे भिडियो सार्वजनिक

कृष्णदेव रुपाखेतीको निर्देशनमा ‘तिमी जस्तो साथी’ काे भिडियो सार्वजनिक

केन्द्रबिन्दु
784
Shares

काठमाडौं। गीतकार केशव भट्टराईका शब्द तथा संगीतकार किर्ति न्यौपाने (दिवाकर शर्मा) द्वारा संगीतबद्ध सुगम संगीतमा आधारित एउटा नयाँ गीत ‘तिमी जस्तो साथी…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। यो गीतमा वरिष्ठ गायक दीप श्रेष्ठको स्वर सुन्न सकिन्छ।

नेपाल सरकारका पूर्व सचिव रहिसकेका गीतकार भट्टराईले गीतका शब्दहरुमा साथीको रुपमा जीवनसाथीको माया र साथलाई चित्रण गरेका छन्। श्रीमानलाई अफ्ट्यारो पर्दा जीवनसाथी अर्थात श्रीमती नै सबैभन्दा नजिकको साथी बनेर सहयोग गर्छिन् भन्ने भावना बोकेको यो गीतको म्युजिक भिडियोले गीतकै भावना बोकेको छ।

कृष्णदेव रुपाखेतीद्वारा निर्देशित यो गीतको भिडियोमा कुनै बेला लोकप्रिय अभिनेता कृष्ण मल्ल तथा अभिनेत्री शर्मिला मल्लले श्रीमान्–श्रीमतीकै भूमिका निर्वाह गरेका छन्। भिडियोमा नारायण प्रधान, राकेश खड्का, राजेश विशुराल, श्याम कृष्ण सञ्जेल, राजु चौहान तथा निराजन रिमालले पनि अभिनय गरेका छन्।

ओएसआर डिजिटलबाट शुक्रवार साँझ सार्वजनिक भएको यो भिडियोले दर्शकको मन जित्ने कुरामा दुईमत छैन। मुकेश हुमागाईंको छायांकन तथा प्रशान्त तामाङको कोरियोग्राफीमा तयार पारिएको यो भिडियोलाई बिनोद बमले सम्पादन गरेका छन्।

भिडियोका बारेमा निर्देशक रुपाखेती भन्छन्, ‘हामीले यो भिडियोमा अहिलेको देशको परिस्थितिलाई चित्रण गर्ने प्रयास गरेका छौं । एउटा सफल व्यवसायी आर्थिक मन्दीका कारण आफ्नो व्यवसाय बिग्रिएपछि कस्तो परिस्थितिको सामना गर्नुपर्छ भन्ने कुरालाई देखाएका छौं । त्यसका साथै एउटा समस्याग्रस्त परिस्थितिलाई एउटा महिलाले कसरी सम्हाल्न सक्छिन् भन्ने कुरा पनि भिडियोमा देखाइएको छ । भिडियोमार्फत हरेक सफल पुरुष पछाडि नारीको ठूलो भूमिका हुन्छ भन्ने सन्देश दिन खोजिएको छ।’ गीतकार भट्टराईले निर्देशक रुपाखेतीको कामप्रति सन्तुष्ट रहेको बताउँदै गीतले न्याय पाएकोमा खुशी व्यक्त गरेका छन् ।

Logo