अभिनेता अर्पण थापाले भने- ‘रङ्गेली’ को भगवान दादा ‘टिपिकल भिलेन’

अभिनेता अर्पण थापाले भने- ‘रङ्गेली’ को भगवान दादा ‘टिपिकल भिलेन’

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। अभिनेता अर्पण थापा विशेषत फिल्ममा नकारात्मक चरित्रमा रुचाइएका अभिनेता हुन्। उनले आफूले अभिनय गरेका प्रत्येक फिल्मका चरित्रमा न्याय गरेका छन्। अर्पण यही फागुन २५ गतेबाट रिलिज हुने फिल्म ‘रङ्गेली’मा ‘भगवान दादा’को चरित्रमा देखिँदैछन्।

ग्याङस्टार चरित्रमा अभिनय गर्न रुचाउने अर्पण फिल्ममा ग्याङ्स्टार चरित्रमै छन्। ‘भगवान दादा रङ्गेली भन्ने ठाउँको शक्तिशाली मान्छे हो। उसले एउटा एरियालाई आफ्नो अधिनमा राखेको हुन्छ। प्रशासनदेखि लिएर धेरै कुरामा उसको हस्तक्षेप हुन्छ। मान्छेसँग जति धेरै पावर हुन्छ, ऊ राजनीतिमा पनि जोडिन्छ। मेरो चरित्रले काम गरिरहँदा मलाई प्रशासनले र आफूले गरिरहेको कामले गाह्रो बनाउने अवस्था आउँछ’,उनी भन्छन्।

अर्पण ‘भगवान दादा’ लाई ‘टिपिकल भिलेन’का रुपमा चित्रण गर्छन्। ‘सामान्यतयाः चलचित्रमा यस्तो क्यारेक्टर सुटमा देखिन्छ। यस्तो क्यारेक्टरमा अलिक बढी भेरिएसन दिन पाइन्छ। लुक्स र गेटअपले गर्दा मलाई दर्शकले युरोपियन लुक्स जस्तै देखिएको भन्छन्। तर यो चलचित्रमा भने मलाई दर्शकले टिपिकल लोकल लुक्समा देख्नुहुन्छ। एक तहमा मेरो लुक्स केही फरक छ’, अर्पण भन्छन्।

अर्पणका अनुसार यो फिल्मको तयारी गर्दा धेरै पटक लुक टेस्ट गर्नु परेको थियो। कुन किसिमको पहिरन लगाउने भन्ने छलफल पनि भएको थियो। ‘लुक टेस्ट गरेपछि लुगामा आइसक्दा हाम्रो लागि अर्कै किसिमको पहिरन बन्यो। मैले सेटमा धोती र कालो सट लगाएर फस्ट सुट गरेका थिएँ। त्यो लुगा सबैले मनपराएपछि पहिरन परिवर्तन नगर्ने निर्णयमा पुग्यौं। मेरो चरित्रका लागि चारवटा कोट र पाइन्ट तयार पारिएका थिए’, अर्पण भन्छन्।

अर्पण तराईतिरको बसाईमा त्यति ‘भिजेका’ होइनन्। ‘तर हामीले जति सोचेका थियौं, हामीले स्क्रिप्ट अनुसार आफूलाई तयार पारेका थियौं, फ्लोरमा गएपछि दुईचारवटा कुरा धेरै देखियो। यो कुरालाई चाहिँ मान्छेले जिज्ञासाको रुपमा राख्छन् या यो कुरालाई मान्छेले खासै मतलब पनि गर्दैनन् भन्ने कुरा जोडिन थालेपछि त्यही अनुसार क्यारेक्टरलाई केही अदलबदल चाहिँ गर्यौ’, उनी भन्छन्।

अर्पण दर्शकहरु आफ्नो चरित्रमा ‘कनेक्ट’ भन्दा पनि आफ्नो चरित्रबाट दर्शक कडामा ‘कनेक्ट’ हुने बताउँछन्। ‘म चाहिँ भाँडो अथवा गाडी जस्तो भएँ। जसमार्फत दर्शकलाई तलको परिवेश, बसाई, भोगाई, त्यहाँ लगिदिन्छु। म चाहिँ एउटा आधार हो’, अर्पण खुल्छन्।

उनी ‘रङ्गेली’ लाई जनरा अनुसारको फिल्म मान्छन्। ‘फिल्ममा एउटा जनरा भन्छौं, तर त्यसको खिचाई, परिवेश फरक पर्दा पर्दै फिल्म सकिन्छ। तर यसमा चाहिँ मिठो कुरा के छ भने यसमा जनरा अनुसार नै कथा बगेको छ। जनरा र ठाउँ अनुसारको लुक चाहिने भएकाले त्यही नै एडप्ट गरिएको छ। फिल्मका साना–साना चरित्र पनि कथा सुहाउँदो र विश्वासिला बनेका छन्’,उनी भन्छन्।

Logo