आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा, के भन्छन् नायक-नायिका ?

आजदेखि एकसाथ तीन चलचित्र प्रदर्शनमा, के भन्छन् नायक-नायिका ?

केन्द्रबिन्दु
140
Shares

काठमाडौँ । आजदेखि तीन नेपाली चलचित्र ‘उपहार’, ‘काँडेतार’ र ‘रङ्गेली’को सार्वजनिक प्रदर्शन गरिएको छ । महाशिवरात्रिलाई लक्षित गर्दै प्रदर्शनमा आएका तीनै चलचित्रको विधा भने फरक छ । सोही कारण पनि दर्शकले रोजाइअनुसारको चलचित्र हेर्न पाउने विश्वास निर्माण पक्षको छ ।

रेखा थापाले निर्माणसँगै अभिनय गर्नुभएको चलचित्र ‘उपहार’ मा काठमाडौँमा जीविकोपार्जनका लागि तीन महिलाले गर्ने सङ्घर्षको कथा देखाइएको छ । अभिनेत्री थापाले चिया बेचेर पनि स्वदेशमै आम्दानी गर्न सकिने सफलतालाई मुनाको पात्रमार्फत व्यक्त गरिएको बताइन् ।

“चलचित्रका महिला पात्रले स्वरोजगारसँगै मेहनत र सङ्घर्षले प्राप्त हुने सफलतालाई दर्शाएका छन् । यसले विदेश मात्र विकल्प नभई स्वदेशमै गर्न सकिने व्यवसाय प्रति युवालाई आकर्षित गर्छ”, अभिनेत्री थापाले भनिन्, “मैले महिलाको सक्षमतालाई पर्दामा ल्याएको छु । यो काठमाडौँमा आएर सपना देख्ने तीन महिलाको कथा हो ।”

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको चलचित्रमा पुजा शर्मा, मुकुन भुसाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजङ्ग कार्की, सुष्मा कार्की, शिशिर राणा, राजाराम पौडेल, किरण केसी, अंशु महर्जन र विनोद पौडेलले अभिनय गरेका छन् । चलचित्रमा विष्णु घिमिरे छायाङ्कन, मित्र गुरुङले सम्पादन, सुलक्षण भारतीले कथा लेखन, अभिमन्यू निरवी र माधव शर्माले पटकथा तथा संवाद लेखेका छन् ।

आजैदेखि प्रदर्शन गरिएको चलचित्र ‘रङ्गेली’ मा बोर्डर छेउमा हुने आपराधिक घटनाक्रमलाई देखाइएको छ । अर्जुन सुवेदीले लेखनसँगै निर्देशन गरेकाे चलचित्रमा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले अभिनय गरेका छन् ।

चलचित्रले समाजमा बढिरहेको विकृतिलाई मुख्य विषयवस्तु बनाएको निर्देशक सुवेदीले बताए । “हामीले आपराधिक समूहको घटनाक्रम र त्यसले समाजमा परिरहेको प्रभावलाई चलचित्रको शैलीमा प्रस्तुत गरेका छौँ”, उनले भने, “यसले मनोरञ्जनसँगै त्यसतर्फ आकर्षित भइरहेका युवालाई सचेत गर्छ । चलचित्रमा रङ्गेली र आसपासका मनोरम दृश्यलाई समेटेका छौँ ।”

अभिनेता राईले यसमा एक आपराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरे । उनले धेरै समयपश्चात् यस किसिमको भूमिका निर्वाह गरेको बताए । “पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ”, अभिनेता राईले भने ।

प्रदर्शन गरिएको चलचित्र ‘काँडेतार’ राष्ट्रियता र राजनीतिका विषयमा आधारित छ । नेपालको सीमा मिचेर मुलुकको राष्ट्रिय स्वाधीनतामा हस्तक्षेप गरेको कथावस्तुमा चलचित्र निर्माण गरिएको निर्देशक तथा कलाकार नवल खड्काले जानकारी दिए ।

उनले भने, “राष्ट्रवादी, चेतनामूलक एवं ऐतिहासिक विषयवस्तुमा चलचित्र निर्माण गरेका छौँ । यो राष्ट्रवादी धाराको एक सशक्त चलचित्र हो । नेपाल–भारत सीमामा काँडेतार लगाएर सिमाना व्यवस्थित गर्नुपर्ने सन्देश चलचित्रले दिन्छ ।”

चलचित्रमा अभिनेता खड्कासँगै गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदारलगायतका कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई स्वयं निर्देशक खड्का र शिवम अधिकारीले लेखेका हुन् ।

Logo