आलियामाथि बलिउडको हजार करोड लगानी

आलियामाथि बलिउडको हजार करोड लगानी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। बलिउड अभिनेत्री आलिया भट्ट आज (मार्च १५) बाट ३१ वर्षकी भएकी छन्। १२ वर्षको करियरमा उनले करिब १६ फिल्ममा प्रमुख भूमिका निभाइसकेकी छन्।

जसमा १२ हिट, २ फ्लप र २ औषत रहे। उनको चार फिल्म ‘जिगरा’, ‘लभ एण्ड वार’, ‘जी ले जरा’ र ‘ब्रह्मास्त्र २’ अब आउने फिल्म हुन्। यी फिल्ममा करिब १ हजार ३० करोड रुपैयाँको लगानी छ।

आलियाले सन् २०१२ मा फिल्म ‘स्टुडेण्ट अफ द इयर’बाट बलिउडमा डेब्यू गरेकी थिइन्। तर यो फिल्ममा काम गर्ने अवसर भने उनले सजिलै पाइनन्। फिल्मका लागि उनका अलावा करिब ४ सय युवतीले अडिसन दिएका थिए।

आलिया अहिले बलिउडकै सर्वाधिक पारिश्रमिक लिने अभिनेत्रीको सूचीमा पर्छिन्। उनी एक फिल्ममा २० देखि २५ करोड पारिश्रमिक लिन्छिन्। उनले फिल्म ‘गंगूबाई कठियावाडी’का लागि ‘बेस्ट एक्ट्रिस’को नेसनल अवार्ड जितेकी थिइन्। यो फिल्मले विश्वव्यापी रुपमा करिब २ सय १० करोड कलेक्सन गरेको थियो।

आलियाका लागि सन् २०२३ निकै राम्रो रह्यो। फिल्म ‘रकी और रानीकी प्रेम कहानी’ले विश्वव्यापी रुपमा ३ सय ५५ करोडको कलेक्सन गरेको थियो। आलिया वाईआरएफ स्पाई युनिभर्ससँग जोडिने पहिलो अभिनेत्री पनि बनेकी छन्। उनी स्पाई युनिभर्सको आठ फिल्म फ्रेञ्चाइजीमा देखिँदैछिन्।

स्पाई युनिभर्सबाट निर्माण हुन लागेका आठै वटा जासूसी पृष्ठभूमिमा आधारित फिल्ममा आलियाले सुपर एजेन्टको भूमिका निभाउँदैछिन्। यद्यपि स्पाई युनिभर्सले यी फिल्मको बजेट सार्वजनिक गरेको छैन।

आलियाको जन्म सन् १९९३, मार्च १५ मा मुम्बईमा भएको थियो। उनी बलिउडका लोकप्रिय फिल्म निर्माता तथा निर्देशक महेश भट्ट र अभिनेत्री आमा सोनी राजदानकी छोरी हुन्।

उनले ६ वर्षको उमेरमा महेशको प्रोडक्सन हाउस विशेष फिल्मसको व्यानरमा निर्माण भएको फिल्म ‘संघर्ष’मा अभिनेत्री प्रिती जिन्टाको बाल्यकालिन चरित्रमा अभिनय गरिन्।

उनले ९ वर्षको उमेरमा सञ्जय लीला भन्सालीको फिल्म ‘ब्ल्याक’मा अडिसन दिएपनि उनी अस्वीकृत भएकी थिइन्। आलिया कक्षा १२ मा अध्ययन गरिरहँदा स्कुल पोसाकमै फिल्म ‘स्टुडेण्ट अफ द इयर’का लागि अडिसन दिइन्। उनले अडिसनमा ‘बहारा बहारा’ गीतमा नाँचेकी थिइन्। फिल्मको शनाया सिंघानिया चरित्रका लागि ४ सय युवतीले अडिसन दिएका थिए।

आलियाको करियरमा दोस्रो फिल्म ‘हाईवे’ आलियाका लागि गैर ग्ल्यामर भूमिका थियो। यो फिल्मपछि उनले ‘२ स्टेट्स’, ‘हम्प्टी शर्मा की दुल्हनिया’,‘कपूर एण्ड सन्स’, ‘उडता पञ्जाब’, ‘डियर जिन्दगी’, ‘बद्रीनाथ की दुल्हनिया’मा अभिनय गरिन्।

सन् २०१८ मा रिलिज फिल्म ‘राजी’मा उनले निभाएको भारतीय स्पाईको भूमिकाका लागि फिल्मफेयरको ‘बेस्ट एक्ट्रेस अवार्ड’ जितिन्। १२ वर्षको फिल्मी करियरमा आलियाको कमाई उल्लेख्य छ। उनीसँग अहिले ५ सय १७ करोड सम्पत्ति छ। उनीसँग तीन घर छन्। उनले पहिलो घर लण्डनमा खरिद गरेकी थिइन्।

आलिया एक सफल व्यवसायी महिला पनि हुन्। उनले सन् २०१० मा एड–ए–ममा नामको क्लोथिङ ब्राण्ड सुरु गरिन्। वर्षदिनमै यो कम्पनीको मूल्यांकन १ सय ५० करोड पुगेको थियो। त्यसपछि उनको यो कम्पनीलाई रिलायन्स ब्राण्ड्स लिमिटेडले ३ सय देखि ३ सय ५० करोडमा किनेको थियो।

Logo