चलचित्र ‘रङ्गेली’ का निर्देशक सुवेदी भन्छन्- ‘दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु’

चलचित्र ‘रङ्गेली’ का निर्देशक सुवेदी भन्छन्- ‘दर्शकको चाप बढिरहेको देख्दा उत्साहित छु’

केन्द्रबिन्दु
42
Shares

काठमाडौं। गत शुक्रबार रिलिज भएको नेपाली चलचित्र ‘रङ्गेली’ सफलताका साथ दोस्रो हप्तामा प्रवेश गरेको छ। पहिलो हप्ता रिलिज भएका सबै हलहरूमा केही सङ्ख्या कम गरी यस हप्ता पनि रंगेलीलाई शो प्राप्त भएका छन्।

“पहिलो हप्ताको अन्त्यतिर आइपुग्दा दर्शकको उपस्थिति झन् बढेको थियो। नेपाली चलचित्र हेर्ने दर्शक निकै चलाख हुनुभएको महसुस गरेँ। चलचित्रको प्रतिक्रिया हेरेर मात्र हल पुग्ने निर्णयमा पुग्ने गरेको भेटियो। म निकै उत्साहित छु,” निर्देशक अर्जुन सुवेदीले भने।

सुवेदीले पहिलो हप्ताको अन्तिम दिन बिहीबार अधिकांश शोहरुमा ८० प्रतिशत बढी अकुपेन्सी रहेको उल्लेख गरे। रिलिजको पहिलो दिनदेखि नै उत्साहजनक व्यापार गरिरहेको रङ्गेलीको शो नेपाल बाहिरबाट पनि आइरहेको सुवेदीले बताए।

यो चलचित्र अमेरिका, क्यानडा, जापान र कोरियामा पहिले नै बिक्री भइसकेको थियो। नेपालमा मन पराइएपछि मलेसिया, दुबई, कतार, बहराइन, साउदी, ओमानमा हालै मात्र बिक्री भएको सुवेदीले बताए। अस्ट्रेलिया, युरोप, हङकङ, भारतलगायतका देशहरूमा रिलिजको लागि त्यहाँस्थित वितरकहरूसँग रिलिजको लागि अन्तिम चरणमा पुगेको सुवेदीको भनाई छ।

दर्शकबाट चलचित्र केही लामो भएको प्रतिक्रिया पाएपछि २१ मिनेट घटाइएको थियो। चलचित्रको रनटाइम कम भएपछि दर्शकले झनै मनोरञ्जन गरेको निर्देशक सुवेदीको बुझाई छ।

अभिनेता दयाहाङ राईलाई एकै प्रकारका चरित्रमा देखिरहेको समयमा यो चलचित्रमा फरक भूमिकामा पाउँदा दर्शकले तारिफ गरेका छन्। रङ्गेलीमा दयाहाङ राईसँगै मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको प्रमुख भूमिका रहेको छ। यस चलचित्रका गीतहरूमा हर्क साउद, अर्जुन सुवेदी र सबिन एकतारेको शब्द रचना तथा सुशान्त गौतम र हर्कुलस बस्नेतको सङ्गीत रहेको छ।

चलचित्रका कार्यकारी निर्माताहरू जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन्। निर्माताहरू संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ हुन् भने युवक कार्की र शिव शङ्कर चौलागाईँ सह(निर्माता हुन्। विवेक खड्का (योलो) एशोसियट निर्माता हुन्। छायाकार सुशन प्रजापति रहेका छन्।

Logo