काठमाडौं। शुक्रबारबाट प्रदर्शनमा आएको निर्देशक सुदिप्तो सेनको फिल्म ‘बस्तरः द नक्सल स्टोरी’ रिलिज हुनासाथ विवादमा तानिएको छ। छत्तिसगढको नक्सल आतंकमा आधारित अभिनेत्री अदा शर्मा स्टारर यो फिल्मका शो कर्नाटकसहित अन्य राज्यमा धमाधम रद्द हुन थालेका छन्।
अदालतले अदालाई एक सुचना पनि पठाउने तयारी रहेको छ। अधिकांश स्थानमा फिल्मलाई प्रतिबन्ध गर्ने चर्चा उत्तिकै छ। २ घण्टा ४ मिनेटको यो फिल्ममा नक्सलीको हिंसालाई खुलेर देखाइएको छ। थिएटर तथा दर्शकले फिल्ममा प्रयोग गरिएका केही संवादलाई लिएर आपत्ति जनाएका छन्।
उक्त संवादले विवाद सिर्जना सुरु गरिसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। फिल्ममा प्रयोग गरिएका केही विवादास्पद संवाद र केही राजनेतालाई बदनाम गरेको आरोपमा अदालतले अभिनेत्री अदालाई अदालतमा उपस्थित हुन सूचना पठाउने तयारी गरिरहेको छ।
फिल्ममा माओवादीको क्रुरतालाई पूर्ण रुपमा चित्रण गराइको छ। फिल्ममा अदा आईपीएस अधिकारीको भूमिकामा छिन्। फिल्ममा अदामाथि निर्दोष आदिवासीहरुलाई फेक इन्काउन्टरमा सहभागिता गराएको आरोप र नक्सली गतिविधिलाई नियन्त्रणको आडमा फैलाइएको अतिक्रमणमा दोषी देखिएको मामला देखाइएको छ।
फिल्ममा नक्सल गिरोहको मिसन, सीआरपीएफ बटालियनका जवानमाथि झुक्याएर हमला गरेको र उनीहरुको मृत्युदेखि लिएर कैयौं हृदयविदारक दृश्य देखाइएको छ। फिल्ममा हिंसा यति धेरै छ कि फिल्म समीक्षकले कमजोर मुटु भएकालाई फिल्म नहेर्न सल्लाह नै दिएका छन्।
प्रतिक्रिया