‘इट्स माई शो’काे विवादित क्लिप हटाइयाे

‘इट्स माई शो’काे विवादित क्लिप हटाइयाे

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । चर्चित कलाकारलाई मुछेर कान्तिपुर टिभिले बजाएको ‘इट्स माई शो’ कार्यक्रमकाे विवादित क्लिप प्रेस काउन्सिल नेपालको निर्देशनपछि हटाइएको छ ।

इट्स माई शोमा दुई साताअघि प्रसारित सामाग्री विवादमा तानिएको थियो । ती सामाग्री आपत्तिजनक र तथ्यहीन भन्दै अभिनेत्री जसीता गुरुङसहितले चर्को विरोध गरेका थिए । प्रेस काउन्सिल नेपालले उक्त शो सार्वजनिक भएलगत्तै स्वअनुगमन गरेर त्यसबारे प्रष्ट पार्न २४ घण्टे पुर्जी काटेको थियो । टिभिले दिएको लिखित जवाफ चित्त नबुझेर काउन्सिलले प्रस्तोता ओसिन सिटौलासहितलाई लगत्तै बयानका लागि कार्यालयमै बोलाएको थियो ।

काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितको उपस्थितिमा टिभिको टोलीले नै त्यस्ता प्रसंग आएकोमा माफी मागेको थियो । प्रेस काउन्सिलले त्यस्ता विवादास्पद सामग्री तत्काल हटाउन र त्यसको जानकारी युट्युव च्यानलसहित माध्यममा गराउन लिखित निर्देशन दिएको थियो । त्यसलगत्तै टिभिले विभिन्न कलाकारको नाम एक अर्कालाई जोडेर प्रसारित आपत्तिजनक अभिव्यक्ति हटाएको छ ।

प्रेस काउन्सिल समक्ष प्रस्तोता सिटौलाले व्यक्तिगत लाञ्छना लगाउने, आचारसंहिता विपरित हुने गरी आफूले कुनै काम नगर्ने प्रतिवद्धता जनाएकी थिइन् । यो प्रकरण काउन्सिलमा विचाराधीन रहेकाले थप कारवाही के हुन्छ भन्ने खुलेको छैन ।

Logo