महानायक राजेश हमाल अब गायक पनि

महानायक राजेश हमाल अब गायक पनि

केन्द्रबिन्दु
0
Shares

महानायक राजेश हमालले आफूलाई गायकको रूपमा समेत अघि बढाएका छन् । हमालले करिब दुई महिनाअघि दीपक शर्माको शब्द र संगीतमा ‘मन बुढो भएन’ बोलको गीत गाएका हुन् । 

गायनमा हमाललाई एलिना चौहान, सुवास पुरी र बेनिशा पौडेलले साथ दिएका छन् । नरेन्द्र वियोगीले एरेन्ज गरेको गीत अनामनगरस्थित वेभ स्टुडियोमा रेकर्ड गरिएको हो । 

‘हमाल दाइलाई आफूलाई अनुकूल हुने, आफ्नो उमेर सुहाउँदो एउटा गीत गाउन इच्छा रहेछ,’ गीतकार तथा संगीतकार दीपक शर्माले न्युज कारखानासँग भने, ‘मैले एउटा गीत लेखेको थिएँ । म्युजिक भिडियो निर्देशक देवेन्द्र पाण्डेमार्फत हमाल दाइलाई भेटेर गीत सुनाएँ । उहाँले मन पराउनुभयो ।’ 

गीत मन पराएपछि हमालले केही समय ‘प्राक्टिस’ गर्ने चाहना राखेछन् । ‘दाइसँग दुई पटकको बसाइमा राम्रो ‘प्राक्टिस’ भयो,’ संगीतकार शर्माले भने, ‘दुई पटककै अभ्यासमा उहाँले प्रोफेसनल गायकले झैँ सुरताल पकड्नु भयो । त्यसपछि गीत रेकर्ड गर्‍यौँ ।’ 

हमालको स्वरको यो गीत तिहार अगाडि नै भिडियोसहित दर्शकमाझ ल्याउने तयारी गरिएको छ । भिडियोको निर्देशक देवेन्द्र पाण्डेले गर्नेछन् । हमालले यसअघि शिव रेग्मीको ‘हामी तीन भाइ’ फिल्मको ‘बाजा बजाउँदै’ बोलको गीतमा केही संवाद बोलेका थिए ।

तर, त्यसलाई गीत मान्न सकिँदैन । पछिल्लो समय म्युजिक भिडियो अभिनयमा व्यस्त रहेका हमालको उमेरजन्य यस गीतले दर्शकस्रोताको साथ पाउने विश्वास संगीतकार शर्माको छ । न्युज कारखाना

Logo