माघदेखि ब्यान्ड च्याम्पियन नेपाल हुने

माघदेखि ब्यान्ड च्याम्पियन नेपाल हुने

केन्द्रबिन्दु
0
Shares

पछिल्लो तीन दिन चलचित्र विकास बोर्ड परिसर ब्यान्डमय बन्यो। शुक्रबार, शनिबार र आइतबार हातमा गितार बोकेर सुर, ताल र धुन निकाल्न प्रयासरत ब्यान्डहरूले विकास बोर्ड परिसर भरिएको थियो। कोही गितारका तार रेटिरहेका थिए, त कोही भोकल टेस्ट गरिरहेका थिए। सुर, ताल र संगीतको संयोजन ब्यान्ड प्रतिस्पर्धा हुन लागेको छ। 

एपीवान टेलिभिजनमा माघ पहिलो सातादेखि ‘ब्यान्ड च्याम्पियन नेपाल  रियालिटी शो’ सुरु हुन लागेको हो। देशभर छरिएर रहेका ब्यान्डलाई मञ्च प्रदान गर्न ब्यान्ड च्याम्पियन हुन लागेको हो।  ब्यान्ड च्याम्पियनको डिजिटल अडिसनमा देशभरका दुई सय ब्यान्डले सहभागिता जनाएका थिए। जसमध्ये ७० वटा ब्यान्ड जज अडिसनका लागि छनोट भएका छन्। 

ब्यान्ड च्याम्पियन नेपाल  रियालिटी शोका निर्देशक फुर्वा शेर्पाले ब्यान्डका सबै सदस्यको उत्तिकै भूमिका रहने भएकाले सबैको प्रस्तुति हेरिने जानकारी दिए। ‘ब्यान्ड च्याम्पियन पावर, प्यासन र पर्फमेन्सको प्रस्तुति हो। यहाँ एक जनाको मात्रै होइन, पूरै समूहकै प्रस्तुति हेरिन्छ’, निर्देशक शेर्पाले भने, ‘प्रतिस्पर्धामा विशेषगरी रक, पप र आधुनिक मेलोडी गीतहरू प्रस्तुत हुनेछ।’ उनका अनुसार प्रतिस्पर्धामा जुनसुकै ब्यान्ड पनि सहभागी हुन पाउँछन्। प्रस्तुतिका लागि आवश्यक म्युजिकल सामग्री पनि ब्यान्ड आफैंले व्यवस्थापन गर्नु पर्नेछ। 

ब्यान्ड च्याम्पियनका लागि मंसिर २० गतेसम्म डिजिटल अडिसन खुला गरिएको जानकारी दिँदै  शेर्पाले कार्यक्रम माघदेखि जेठसम्म प्रशारण हुने बताए। ब्यान्डको प्रतिस्पर्धा भए पनि भोकल, म्युजिक र समूहको प्रस्तुति हुनेछ। जज राउन्डपछि ओरिजिनल सङ राउन्ड सुरु हुनेछ। जहाँ ब्यान्डले आफ्नै गीत गाउनुपर्ने हुन्छ। 

उत्कृष्ट १० मा पुगेका ब्यान्डहरूबीच भोटिङ राउन्ड सुरु हुनेछ। भोटिङ राउन्डमा जजको ६० प्रतिशत र भोटको ४० प्रतिशत भूमिका हुनेछ। ब्यान्ड च्याम्पियनको जजमा ड्रमर देव राना, भोकलिस्ट रविन तामाङ, गितारिस्ट ज्योति घिमिरे छन्। नेपाल आइडलकी गोल्डेन माइक विजेता मेगा श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नेछिन्।

एपीवान टेलिभिजनमा शनिबार र आइतबार प्रशारण हुने ब्यान्ड च्याम्पियनका विजेताले २० लाख नगद पुरस्कार प्राप्त गर्नेछन्। यसैगरी दोस्रो हुनेले ६ लाख, तेस्रो र चौथोले चार/चार लाख पुरस्कार पाउने छन्। विजेता ब्यान्डले विभिन्न सात वटा देशमा प्रस्तुति दिने अवसर पनि पाउनेछन्। ब्यान्ड च्याम्पियन लास्ट फ्राइडे इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको हो।

Logo