अस्ताए भारतीय संगीत जगतका अर्का एक नक्षत्र

अस्ताए भारतीय संगीत जगतका अर्का एक नक्षत्र

केन्द्रबिन्दु
0
Shares

भारतीय संगीतका जगतका अर्का एक नक्षत्र गायक तथा संगितकार बप्पी लहरीको आज (बुधवार) ६९ वर्षको उमेरमा भारतको मुबई स्थित एक अस्पतालमा निधन भएको छ । केही दिन अघि मात्र स्वर कोकिला लता मंगेशकरको निधन भएको थियो । लहरी अस्वास्थ्य भएपछि हिजो (मंगलबार) अस्पताल भर्ना गरिएको थियो ।

चिकित्सकका अनुसार उनलाई निन्द्राको समयमा श्वासप्रश्वासमा हुने समस्या अब्ष्ट्रक्टीभ स्लीप एपनियाबाट मृत्यु भएको हो । उनको परिवारमा पत्नी, एक छोरा र एक छोरी रहेका छन् ।  स्वास्थ्य अवस्था खराब भएपछि एक महिना देखि उनी अस्पतालमा भर्ना भए पनि गत सोमबार डिस्चार्ज भएका थिए । गत सेप्टेम्बरमा बप्पी लहरीको स्वर दब्दै गएको अपुष्ट समाचार आएका थिए  । पछि बप्पीले सो खबर झुटो भएको बताएका थिए । लहरी कोभिडबाट समेत संक्रमित भएपछि  पछिल्लो समय अस्पताल भर्ना भएर डिस्चार्ज भएका थिए ।

चर्चित बप्पीले भारतमा डिस्को संगीतको प्रचलन ल्याएका थिए । बलिउडका चर्चित नायक मिथुन चक्रवर्ती अभिनीत फिल्म डिस्को डान्सरको गीत आई एम ए डिस्को डान्सर बप्पीले गाएको सुपरि हिट गीत हो । ८० को दशकमा बप्पी लहरी डिस्को किंगका रूपमा परिचित थिए । बप्पीको बम्बई से आया मेरा दोस्त, दे दे प्यार दे, तम्मा तम्मा लोगे, झुम झुम बाबा, प्यार मे कवि कवि, ताकि ताकि लगायत गीत बलिउडमा बहुचर्चित भएका गीत हुन् । यस्तै डर्टी पिक्चर फिल्मको समेत गीत चर्चित भएको थियो ।

बप्पीले गाएको अन्तिम गीत सन् २०२० को टाइगर फिल्मको रहेको थियो । बप्पी लहरी  बप्पी दा भनेर समेत बलिउडमा  परिचित थिए । बप्पी सुनका विभिन्न गरगहना लगाउन सौखिन रहेका थिए । बलिउडमा संगीतलाई डिजिटल गर्नेमा संगीतकार वप्पीको योगदान अतुलनीय मानिन्छ । बप्पीको संगीतलाई बलिउडमा मात्र नभएर हलिउडमा समेत प्रयोग गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बप्पी लहरी गीत संगीतमा मात्र नभएर सन् २०१४ मा राजनीतिमा समेत प्रवेश गरेका थिए ।

Logo