माैलिक संस्कृति झल्काउने प्रथम राष्ट्रिय नृत्य दिवस थिमीमा सम्पन्न (फाेटाेफिचर)

माैलिक संस्कृति झल्काउने प्रथम राष्ट्रिय नृत्य दिवस थिमीमा सम्पन्न (फाेटाेफिचर)

केन्द्रबिन्दु
0
Shares

प्रथम राष्ट्रिय नृत्य दिवस भव्यताका साथ ऐतिहासिक नगर मध्यपुर थिमीमा सम्पन्न भएको छ।

वरिष्ठ नृत्य गुरु भैरवबहादुर थापाकाे नृत्य क्षेत्रमा रहेको याेगदानलाई कदर गर्दै नृत्य गुरु थापाको शुभ जन्मदिनकाे दिन पारेर नृत्य निर्देशक संघ नेपालले राष्ट्रिय नृत्य दिवस मनाउन थालेको हाे। प्रथम राष्ट्रिय नृत्य दिवस मध्यपुर थिमी नगरपालिकको सहकार्य र नृत्य निर्देशक संघ नेपालको आयोजनामा सम्पन्न भएको हाे।

हेलिकप्टरबाट पुष्पवृष्टि गरि सुरुवात गरिएको प्रथम राष्ट्रिय नृत्य दिवसमा देशैभरबाट उपस्थित नृत्य निर्देशक तथा कलाकारहरुले नेपालका माैलिक संस्कृति झल्कने झाँकीसहित नगर परिक्रमा गरेका थिए ।

मध्यपुर थिमीको शंखधर साख्वाः चोकबाट विभिन्न जातजातीको भेषभूषा झल्किने पहिरनसहितको झाँकी बाेडे कुमारीपाटीमा पुगी नृत्य महाेत्सवमा परिणत भएको थियो। मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख मदनसुन्दर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नृत्य गुरु भैरवबहादुर थापा तथा मध्यपुर थिमीका वरिष्ठ नृत्य तथा बाध्य गुरु श्रीगाेपाल प्रजापतिलाई नगदसहित कदर पत्रले सम्मान गरिएको थियो। 

नृत्य निर्देशकहरुकाे झाँकीसहितको र्याली कुमारी, दुईपोखरी, बाहखा बजार, नगदेश बोडे हुँदै थिमिको ऐतिहासिक एवं धार्मिक महत्व रहेको कुमारी मन्दिर परिसरमा गएर नृत्य महोत्सवमा परिणत भएको थियाे। महाेत्सवमा नेवार, तामाङ, मगर, गुरुङ, थारु, मैथली, भोजपुरी, लगायत देशका विविध जातजातिका मौलिक संस्कृति झल्कने नृत्य प्रस्तुत गरिएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका प्रमुख श्रेष्ठले धार्मिक, साँस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिकाको बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य दिवसको आयोजना गर्न पाउनु आफैंमा गौरब भएको बताए। श्रेष्ठले दुई वर्ष अगाडिसम्म फोहोर फाल्ने डम्पिङ साइडको रुपमा रहेको यो क्षेत्रमा वर्षको एक पटक बिस्का जात्रामा मात्रै जात्रा सञ्चालन गर्न आउने गरिएकोमा नगरपालिकाले यसलाई संरक्षण गरि कुमारी पार्कको रुपमा विकास गरेकाे बताए। श्रेष्ठले अहिले दैनिक यो क्षेत्र हेर्न, घुम्न आन्तरिक पर्यटक बढ्न थालेको र म्युजिक भिडियोको छायांकनसमेत हुन थालेको बताए। उनले माैलिक कला संस्कृति संरक्षण सम्बर्द्धन गर्नुपर्नेमा जाेड दिए।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठले नेपालमै पहिलो पटक राष्ट्रिय नृत्य दिवस मनाउन फागुन ६ गतेबाट सुरु भएको र यसलाई मध्यपुर थिमि नगरपालिकाले सहयोग गरेकाले हरेक वर्ष मनाइने यो दिवसमा यस नगरपालिकालाई बिर्सन नसक्ने बताए।

केन्द्रीय अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष प्रदीपमान श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव तथा प्रवक्ता ऋषि श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रममा देशभरका ५४० जना नृत्य निर्देशककाे उपस्थिती रहेकाे संघले जनाएको छ।अमरकृष्ण चन्दकाे सहयाेगमा

Logo