चलायमान हुँदै फिल्म क्षेत्र : प्रदर्शन मिति तोक्दै मेकर्स

चलायमान हुँदै फिल्म क्षेत्र : प्रदर्शन मिति तोक्दै मेकर्स

केन्द्रबिन्दु
0
Shares

कोरोना भाइरसको कारण लामो समय थालिएको फिल्म क्षेत्र बिस्तारै चलायमान हुन थालेको छ । बनेर तयार दुई दर्जन बढी फिल्मले एक पछि अर्को गर्दै प्रदर्शन मिति सार्वजनिक गर्न थालेका छन् ।

हल सञ्चालनमा आए पनि दर्शक हलसम्म आउन नसकिरहेका समय 'म यस्तो गीत गाउँछु २'ले दर्शकलाई हलसम्म डोर्‍याएको छ । जसले कलाकार मात्रै हैन फिल्मकर्मी पनि जुरमुराउन थालेका छन् ।

चैत ४ गतेबाट फिल्म 'चिसो एस्ट्रे' प्रदर्शनमा आएको छ । केही दिन अघि राखिएको प्रीमियरमा फिल्मले धेरै फिल्मकर्मीको सकारात्मक प्रतिक्रिया पाएको थियो । बिरलै प्रीमियरमा देखिने राजेश हमाल समेत फिल्मको ट्रेलरले तानेर हलसम्म पुगेका थिए ।

त्यस्तै अग्रज कलाकार सन्तोष पन्तले यो फिल्म हलिउड स्तरको बनेको भनेर प्रशंसा गरेका थिए । हलमा यो फिल्मलाई दर्शकले समेत साथ दिएको देखिन्छ । भूपी शेरचनको कवितामा आधारित यो चलचित्र निर्माणमा निर्देशक दिनेश पाल्पालीले आठ वर्षको समय खर्चिएको बताउँदै आएका छन् ।

अर्को हप्ता चैत ११ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म 'हेलो जिन्दगी' भने एक हप्ता पछाडि सरेर १८ गतेबाट प्रदर्शनमा आउने भएको छ । 'चिसो एस्ट्रे'को व्यापारले आफ्नो फिल्मलाई प्रभाव पार्ने देखेर निर्माण टिमले यो निर्णय गरेको हुन सक्छ ।

विल्सन विक्रम राई, विक्रान्त बस्नेत, दिपिका प्रसाई लगायतको अभिनय रहेको फिल्म 'हेलो जिन्दगी' एभरेस्ट सूर्य बोहराले निर्देशन गरेका हुन ।सोही दिनबाट भारतीय चलचित्र 'आरआरआर' समेत प्रदर्शनमा आउँदै छ ।

वैशाख १ गतेबाट फिल्म 'ए मेरो हजुर ४' प्रदर्शनमा आउँदै छ । झरना थापाको निर्देशन, सुनिलकुमार थापाको निर्माण रहेको चलचित्रको मुख्य भूमिकामा अनमोल केसी र सुहाना थापा रहेका छन् ।

प्रतीक्षित दक्षिण भारतीय फिल्म 'के जी एफ २' सँग भिड्न लागेको यो फिल्मको व्यापार हेर्न भने केही समय प्रतीक्षा गर्नु पर्नेछ । यो फिल्म विदेशी फिल्मसँग प्रतिस्पर्धा गरिरहँदा कलिउडमा भने 'ए मेरो हजुर ४' कै कारण एक नेपाली फिल्मले भने आफ्नो प्रदर्शन मिति पछि सारेको छ ।

अमेरिकामा खिचिएको फिल्म 'लाइफ इन एलए' वैशाख ९ गतेबाट प्रदर्शनको लागि तयार थियो । तर अनमोल-सुहानाको क्रेज अनुमान गर्न सक्ने मेकरले फिल्म प्रदर्शन करिब एक महिना पछि सारेर जेठ ६ मा पुर्‍याएका छन् ।

पोस्टर सार्वजनिक गर्दै बैंकको ऋणको कथा बोल्ने फिल्म 'कौसिद' जेठ २७ गतेबाट प्रदर्शन गर्न निर्माण टिम तयार देखिएको छ ।

स्वस्तिमा खड्का अभिनीत फिल्म 'चिसो मान्छे' असार ३ गतेबाट प्रदर्शनमा आउने छ ।

भाद्र ३ गते 'कृष्ण लीला' प्रदर्शन हुँदैछ भने प्रदीप खड्का अभिनीत फिल्म 'प्रकाश' भाद्र १० गतेबाट हलमा लाग्नेछ ।

Logo