आमाको संरक्षकत्वबाट मुक्त भइन् हलिउड अभिनेत्री अमान्दा

आमाको संरक्षकत्वबाट मुक्त भइन् हलिउड अभिनेत्री अमान्दा

केन्द्रबिन्दु
0
Shares

पूर्वअभिनेत्री अमान्दा बाइन्स नौ वर्षको संरक्षकत्वबाट मुक्त भएकी छन् । एक समयकी यी बालकलाकारलाई क्यालिफोर्नियाका न्यायाधीशले संरक्षकत्वबाट मुक्त गराउने आदेश दिएका हुन् ।

अमेरिकी गायिका ब्रिटनी स्पियर्सको जस्तै अमान्दा पनि सन् २०१३ देखि मनोचिकित्सकले हेरचाह गर्ने गरी संरक्षकत्वमा थिइन् ।

बाइनस अहिले ३५ वर्षकी भइन् । उनी ‘द अमान्दा शो’ सँगै ‘ह्वाट ए गर्ल वान्ट्स’, ‘सीज द मेन’ र ‘इजी ए’ जस्ता फिल्मका कारण लोकप्रिय थिइन् । तर लागूऔषध तथा मानसिक स्वास्थ्य समस्याबाट पीडित भएपछि उनी मनोचिकित्साको संरक्षणमा थिइन् ।

मंगलबार मात्र न्यायाधीश रोजर एल लन्डले उनलाई अब संरक्षकत्वको आवश्यकता नपर्ने आदेश दिएका थिए । ‘यति लामो समयावधिमा उनले अदालतले भनेका सबै कुराको पालना गरिन्’, न्यायाधीश लन्डले भनेका छन् ।

स्वनिर्णय गर्न नसक्ने जोकोही व्यक्तिलाई अदालतले संरक्षक तोकिदिन्छ । जसअनुसार अदालतले बाइन्सकी आमालाई छोरीको आर्थिक, व्यक्तिगतसँगै स्वास्थ्यका विषयमा निर्णय लिने अधिकार दिएको थियो ।

बाइन्सले एक विज्ञप्ति जारी गर्दै उनले फ्यानहरूलाई आफूप्रति देखाएको माया र सद्भावप्रति धन्यवाद दिएकी छन् । ‘म मेरो वकिल र अभिभावकलाई पनि नौ वर्षको यो अन्तरालमा गरेको सहयोग र समर्थनप्रति धन्यवाद दिन चाहन्छु । यो अवधिमा मैले आफ्नो स्वास्थ्यलाई राम्रो बनाउन धेरै मिहिनेत गरेँ । म अब नयाँ जीवनलाई प्राथमिकतामा राखेर काम गर्नेछु’, उनले भनेकी छन् ।

बाइन्सले १६ वर्षको उमेरदेखि लागूऔषधको सेवन सुरु गरेकी थिइन् । तर एडिरल नामक औषधि सेवन गर्न सुरु गरेपछि उनको स्वास्थ्य अवस्था झन् खराब भएको थियो । उनले सन् २०१० देखि अभिनयबाट अवकाश लिइन् । त्यसपछि उनमा मानसिक स्वास्थ्य समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । मानसिक स्वास्थ्य समस्याकै कारण उनले मदिरामा गाडी चलाउने, हिट एन्ड रन तथा निलम्बित लाइसेन्सबाट गाडी चलाएकी थिइन् ।

Logo