बुटवल कोरोना अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बुटवल कोरोना अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बुटवल ,

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आइतबार मृत्यु भएको छ ।

मृतक दुवै रुपन्देही जिल्लाका रहेको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । उनीहरुको कोरोना विशेष अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाई गाउँपालिका– २ का ३८ वर्षीय पुरुष र बुटवल उपमहानगरपालिका –१ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले जारी गरेको सूचनामा जनाइएको छ ।

मृतक मध्येकी महिलालाई गत साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो । उनी मिर्गौला र उच्च रक्तचापको बिरामी रहेको अस्पतालले जनाएको छ । आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै समरीमाईका पुरुष भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए । उनमा श्वासप्रश्वासमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेकामा आइतबार अपराह्न मृत्यु भएको अस्पतालको सूचनामा जनाइएको छ । कोरोना विशेष अस्पतालमा अहिले ३५ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये १४ जनाको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्रप्रसाद खनालले जानकारी दिए ।रासस

Logo