काभ्रेमा हालसम्म पाँच हजार ६६८ परीक्षण, १०४ सङ्क्रमित

काभ्रेमा हालसम्म पाँच हजार ६६८ परीक्षण, १०४ सङ्क्रमित

केन्द्रबिन्दु
0
Shares

काभ्रे।

हालसम्म काभ्रेमा साढे पाँच हजारभन्दा बढी पोलिमरेज चेन्ज रियाक्सन (पिसीआर) परीक्षण गरिएको छ । स्वाब सङ्कलन गरी परीक्षण गरिएकामध्ये १०४ मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टका अनुसार जिल्लामा कोरोना भाइरस सङक्रमण उच्च जोखिम भए यता हालसम्म गरिएको पाँच हजार ६६८ पिसीआर परीक्षणबाट १०४ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । “हालसम्मको पाँच हजार ६६८ जनाको पिसीआर परीक्षणमा १०४ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ, थप स्वाब सङ्कलन तथा परीक्षण भइरहेको छ”, पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार सबै परीक्षण धुलिखेल अस्पतालमा गरिएको हो ।

हालसम्मको पिसीआर परीक्षणबाट देखिएका सङ्क्रमित छिमेकी भारत लगायत तेस्रो मुलुकबाट आएका तथा सङक्रमितको सम्पर्कमा आएका व्यक्ति रहेका हुन् । सङ्क्रमित १०४ मध्ये एक महिला र एक पुरुषको मृत्यु भएको छ । ४३ सङ्क्रमित उपचारपछि निको भएर घर फर्किएका छन् भने ३४ पुरुष र २३ महिला गरी ५९ को विभिन्न अस्पताल तथा होम आइसोलेसनमा उपचार भइरहेको पोष्टले जनायो । यसमध्ये छ प्रहरी काठमाडाैँस्थित प्रहरी अस्पताल महाराजगञ्जमा उपचाररत रहेको पोष्टले जनाएको छ ।

जिल्लाका १३ स्थानीय तह लगायत संस्थाले ८४५ श्ययाको क्वारेन्टिन तथा १०० श्ययाको आइसोलेसनकक्ष व्यवस्थित गरेका छन् । पोष्टका अनुसार हाल स्थानीय तह लगायत संस्थाको क्वारेन्टिनमा ४७ पुरुष र छ महिला बसेका छन् । छिमेकी भारत लगायत तेस्रो मुलकबाट आएका जिल्लाका ९४२ पुरुष र १९३ महिला क्वारेन्टिनको बसाइपछि घर फर्किएका छन् । हालसम्म तेस्रो मुलुकबाट मात्रै ४२६ घर फर्किएका छन् ।

यसैबीच यो हप्ता सङ्क्रमितको सङ्ख्या बढ्दै सय नाघेपछि भने यहाँका बासिन्दा निकै त्रसित बन्दै गएका छन् । एकै दिन १६ सङ्क्रमितसमेत पुगेका छन् । सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएपछि जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले जिल्ला प्रवेशको मुख्य नाका साँगा, नेपालथोक, दोलालघाट, हिंगुवापाटीबाट आवतजावतमा कडाइ गर्दै सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालय, मालपोल कार्यालय र नापी कार्यालयको सेवा तीन दिन अघिदेखि अनिश्चतकालीनरूपमा बन्द गराएको छ ।

यस्तै कारोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै जिल्लाका स्थानीय तहले सीमा क्षेत्र तथा सङ्क्रमित बसोबास क्षेत्र सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधि लगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा भुम्लु गाउँपालिकालले आफ्नो क्षेत्र प्रवेश प्रमुख नाका–सीमामा आवतजावत रोक लगाएका हुन् । ती स्थानीय तहले अत्यावश्यकबाहेक सार्वजनिक, निजी सवारी साधन तथा मानिससमेत आवतजावत नगर्न सीमामा रोक लगाउँदै सूचनाको उल्लङ्घन गरे सङ्क्रामक रोग ऐन–२०२० बमोजिम सजाय र जरिवाना गर्ने समेत जनाएका छन् ।

धुलिखेल नगरपालिकामा सङ्क्रमित देखिएपछि एक हप्ता नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यकबाहेकका सेवा बन्द गरेको थियो । नपाले आफ्नो क्षेत्रभित्र कुनै पनि बैठक, गोष्ठी, भेला तथा चाडपर्व मनाउँदा भौतिक दूरी कायम गरी स्वास्थ्यका मापदण्ड पूरा गर्न पनि आग्रह गरेको छ । “सङ्क्रमित थपिए नगरका सबै नाका बन्द गर्नु पर्ने पनि हुन्छ”, नगरप्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठले भने । धुलिखेल अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोक, दोलखा, रामेछाप र बिपी राजमार्गबाट सिन्धुली तथा पूर्वी तराइका जिल्ला जाने मुख्य नाकासमेत हो ।

बनेपा नपाले पनि भाइरस सङ्क्रमणबाट कार्यालयबाट प्रवाह हुने सेवा हप्ता अघिदेखि अर्को सूचना जारी नहुँदासम्म बन्द हुने जनाउँदै नगरभित्र अत्यावश्यकबाहेकका व्यवसाय बन्द गर्न तथा सङ्क्रमणबाट बच्न स्वास्थ्य–सुरक्षाको मापदण्ड अपनाउन दैनिक माइकिङमार्फत अपिल गरिरहेको छ । भुम्लु गाउँपालिकाले कोरोना भाइरसले आफ्नो क्षेत्रमा समेत प्रभाव पारेको जनाउँदै गाउँपालिका नाकामा सिल गर्दै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सार्वजनिक सूचना जारी गरेको छ । नमोबुद्ध र पाँचखाल नगरपालिका तथा तेमाल गाउँपालिकाले पनि सुरक्षाका मापदण्ड अपनाइ अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन सार्वजनिक अपिल गरेका छन् ।रासस

Logo