उकालो लाग्यो कोरोना सङ्क्रमितको ग्राफ, नेपालमा ३० हजार बढी संक्रमित

उकालो लाग्यो कोरोना सङ्क्रमितको ग्राफ, नेपालमा ३० हजार बढी संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर शुक्रबार ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३ पुगेको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा १३ हजार ५ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।थपिएकामा ५४६ पुरुष र २४२ महिला छन् । हालसम्म १८ हजार २१४ जना कोरोनाबाट मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा २५० जना सङ्क्रमित निको भएर घर फर्किएका छन् ।

देशभर हाल १३३ सङ्क्रमितको अति सघन कक्षमा उपचार भइरहेको छ भने १५ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रवक्ता गौतमले बताए। हाल देशभर १२ हजार १३२ जना सक्रिय सङक्रमित रहेका छन् । यस्तै १२ हजार २३४ क्वारेन्टिनमा तथा १२ हजार १३२ जना आइसोलेसनमा रहेका प्रवक्ता गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ५० जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । प्रदेश नं १ को सात जिल्लामा ८९, प्रदेश नं २ को ७ जिल्लामा १७९, बागमती प्रदेशको १० जिल्लामा २५०, गण्डकी प्रदेशको ६ जिल्लामा २७, प्रदेश नं ५ को १० जिल्लामा ५९, कर्णाली प्रदेशको ४ जिल्लामा ५८ तथा सुदूरपश्चिमको ६ जिल्लामा १७६ जनामा कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।

काठमाडौं उपत्यकामा थपिए १८२

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा १८२ जना कोरोना सङ्क्रमित थपिएको प्रवक्ता गौतमले जानकारी दिनुभयो । थपिएका मध्ये काठमाडौँका १४२, ललितपुरका २५ र भक्तपुरका १५ जना छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । बिहीबार उपत्यकामा १०९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

एकै दिन ११ को मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २३ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । एकै दिनमा मृत्यु हुनेको सङ्ख्या यो हालसम्मकै बढी हो । मृत्यु हुनेमा काठमाडौँ, ललितपुर, चितवन, बारा, पर्सा, मोरङ, सप्तरी, सर्लाही र मकवानपुरका एक एक पुरुष तथा दोलखाकी एक महिला रहेको प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १३७ पुगेको छ ।

पीसीआर परीक्षणमा तीन अर्ब १९ करोड

सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणका लागि हालसम्म रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ । प्रवक्ता गौतमका अनुसार देशभर ५ लाख ७९ हजार ८९९ जनाको पीसीआर परीक्षण गरिएको छ । एक जना कोरोना पोजेटिभ पत्ता लगाउन रु एक लाख चार हजार खर्च हुने गरेको उनले बताए। एक जना सङ्क्रमितलाई अति सघन कक्षमा राखि उपचार गर्नुपरेमा ३० दिनमा चार लाख ५० हजार खर्च हुने गरेको छ ।

Logo