‘भेन्टिलेटरमा पुगेपछि विरामी फर्कने सम्भावना कमै छ, भेन्टिलेटर थप्न जोड नगरौं’ : डा. रवीन्द्र पाण्डे (भिडियो)

‘भेन्टिलेटरमा पुगेपछि विरामी फर्कने सम्भावना कमै छ, भेन्टिलेटर थप्न जोड नगरौं’ : डा. रवीन्द्र पाण्डे (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले काठमाडौं उपत्यकाका सबै नाकामा सेना परिचालन गर्नु पर्ने बताएका छन् । उपत्यकाभित्र अवैध रुपमा आउनेहरुको संख्या धेरै हुँदा कोभिड १९ संक्रमणको जोखिम बढेकाले साना ठूला सबै नाकामा सेना परिचालन गरी नियन्त्रण गर्नुपर्ने डा. पाण्डेले बताए । डा. पाण्डेले उपत्यकाभित्र अवैधरुपमा एकजनालाई पनि प्रवेश गर्न नदिन सेना परिचालन गनुपर्ने आवश्यकता देखिएको बताएका हुन् ।

भारतबाट आएका धेरै मजदूर र संक्रमित क्षेत्रबाट आएका मानिसहरुलाई खोजेर परीक्षण गर्ने कार्यलाई सरकारले तिब्रता दिनुपर्ने पनि उनको भनाइ छ । उपत्यकाका भित्रि, बाहिरी र मूख्य सडक लगायत सबै क्षेत्रमा प्रहरीलाई खटाई मानिसहरुलाई घर बाहिर निस्कन नदिने कामलाई प्रभावकारी बनाउनु पर्ने उनले बताए । संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा अहिलेसम्म क्वारेन्टाइनको व्यवस्था नगरिएकाले तत्काल क्वारेन्टाइन केन्द्रहरु निर्माण गर्नु पर्नेमा उनले जोड दिए । धेरै जनसंख्या भएको ठाउँमा क्वारेन्टाइन नबनाई बस्नुले सरकारले गम्भिर रुपमा नलिएको स्पस्ट हुने पनि डा. पाण्डेले बताए । सरकारले कोरोना रोकथामका लागि लकडाउन तथा निषेधाज्ञा मात्रै गर्ने र अन्य कुनै व्यवस्थापन र तयारीका काम नगर्ने हो भने यसको कुनै अर्थ नहुने उनको भनाइ छ ।

लामो समयसम्म लकडाउन अथवा निषेधाज्ञा गर्न नहुने पनि डा. पाण्डेले बताए । एक हप्ताका लागि गरिएको निषेधाज्ञा बढीमा एक हप्ता मात्रै थप्न उनले सुझाव दिए । १४ दिन निषेधाज्ञा हुँदा सामान्य लक्षण भएका संक्रमितहरु निको भइसक्ने र लक्षण देखा परेकाहरु अस्पतालमा जाने भएकाले अर्को व्यक्तिमा संक्रमण सार्न सक्ने सम्भावना कम हुने बताए । उनले समुदायस्तरमा संक्रमण फैलिएको देखिएकाले १४ दिन अर्थात एक साइकल अवधिसम्म निषेधाज्ञा गर्नु उपयुक्त हुने बताए । निषेधाज्ञाको अवस्थामा जनता घरभित्र बस्ने र सरकार सडकमा आउने काम भए मात्रै संक्रमणलाई नियन्त्रण गर्न सकिने उनको भनाइ छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेपछि सरकारले परीक्षणको दायरा बढाउनु पर्ने र मास परीक्षणमार्फत धेरै भन्दा धेरै व्यक्तिको परीक्षण गर्नुपर्ने बताए । अहिले सरकारसँग दैनिक २२ हजारको पीसीआर परीक्षण गर्न सक्ने क्षमता भएकोमा सुमदायस्तरमा पुगेर पुल प्रणालीबाट दैनिक १ लाख बढीको परीक्षण गर्नुपर्ने सुझाव उनले दिए । यसबाट कुन ठाउँमा संक्रमण बढी छ भन्ने कुरा छुट्याउन सकिने र सोही अनुसार व्यवस्थापनको कार्य गर्न सकिने उनले बताए ।

आइसोलेसन वार्ड र आइसीयु अहिले नै भरिएको अवस्था भएकाले संक्रमणको स्थिति बढ्यो भने ठूलो क्षति हुन सक्ने उनको भनाइ छ । त्यसैले केही अस्पताललाई कोभिड अस्पतालको रुपमा छुट्याउन समेत सुझाव दिनुभयो । काठमाडौंका दुईवटा मेडिकल कलेज, दुईवटा निजी अस्पताल र दुईवटा सरकारी अस्पताललाई कोरोना अस्पतालको रुपमा छुट्याई भेन्टिलेटर, आइसियु, आइसोलेसन वार्डको संख्या बढाउनुपर्ने उनले बताए । हेरौं यो भिडियोमा :

Logo