देशभर ४ सय ६६ संक्रमित घरमै : कहाँ कति आइसियू र भेन्टिलेटर ?

देशभर ४ सय ६६ संक्रमित घरमै : कहाँ कति आइसियू र भेन्टिलेटर ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय नेपालमा संक्रमितको संख्या बढ्न थालेपछि सरकारले लक्षण नभएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगर्ने नीति लिएको छ । जसका कारण ठूलो संख्यामा संक्रमितहरु घरमै बस्न बाध्य भएका छन् ।

देशभर होम आइसोलेसनमा बस्ने कोरोना संक्रमितको संख्या ४ सय ६६ पुगेको छ । प्रदेश ५ मा सबैभन्दा बढी १ सय ४५ संक्रमित रहेका छन् । सुदूरपश्चिममा १ सय ७, प्रदेश २ मा ९८, प्रदेश १ मा ७२, बागमतीमा ३६ र कर्णालीमा ८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् ।

अस्पतालको आइसोलेसनमा ८ हजार २५ जना सक्रिय संक्रमितले उपचार गरिरहेका छन् । प्रदेश २ को आइसोलेसनमा ३ हजार ५ सय ८९ संक्रमित छन् । बागमतीमा १ हजार ७ सय ३, सुदूरपश्चिममा ८ सय ७०, प्रदेश १ मा ७ सय २५, प्रदेश ५ मा ६ सय ८०, गण्डकीमा २ सय ४२ र कर्णालीमा २ सय १६ संक्रमित आइसोलेसनमा रहेका छन् ।

बिहिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले यसबारे जानकारी दिएका हुन् । बिहिबार काठमाडौंमा मात्र १ सय ९ जनामा कोरोना संक्रमित देखिएको छ । त्यसैगरी भक्तपुरमा ५ र ललितपुरमा ११ जनामा कोरोना पुष्टि भएको गौतमले बताए ।

हाल देशभरका क्वारेन्टाइनमा १४ हजार ७ सय ६९ जना बसिरहेका छन् । कोरोना संक्रमितको उपचारका लागि मुलुकभर ९ सय ४२ र भेन्टिलेटर ४ सय ९६ सञ्चालनमा छन् । बागमती प्रदेशमा आइसियू ६ सय ३०, भेन्टिलेटर ३ सय ६१ र गण्डकी प्रदेशमा आइसियू १ सय ३७, भेन्टिलेटर ५९ रहेका छन् । प्रदेश २ मा ४५ आइसियु, भेन्टिलेटर १७, प्रदेश १ मा ४३ आइसियु र भेन्टिलेटर १९, कर्णालीमा ४० आइसियु र १७ भेन्टिलेटर छन् । प्रदेश ५ मा २९ आइसियू र १३ भेन्टिलेटर छन् । त्यसैगरी सुदूरपश्चिममा १८ आइसियू र १० भेन्टिलेटर छन् ।

Logo