‘शवबाट सङ्क्रमण सर्दैन’ : स्वास्थ्य मन्त्रालय

‘शवबाट सङ्क्रमण सर्दैन’ : स्वास्थ्य मन्त्रालय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीको अनिवार्य पिसिआर परीक्षण गराएर मात्र काममा लगाउन अस्पताललाई निर्देशन दिएको छ ।

सङ्क्रमणको जोखिम बढिरहेकाले मन्त्रालयले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई स्वस्थ राखी नियमित सेवामा कठिनाइ हुन नदिनका लागि उनीहरुको अनिवार्य पिसिआर परीक्षण गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको छ । यस्तै सपिङ मल, रेष्टुराँ, होटल र उद्योगमा काम गर्ने सबै कर्मचारीका अनिवार्य पिसिआर परीक्षण गर्न मन्त्रालयले आग्रह गरेको छ । ठूला शहरमा सङ्क्रमण बढ्दै गएका अवस्थामा पछिल्लो अवस्थामा व्यवसायमा संलग्न व्यक्ति धेरैको सम्पर्कमा आउने र जोखिम बढ्ने भएकाले त्यस्ता व्यवसायमा संलग्न हुने कर्मचारी तथा व्यवसायीको सम्बन्धित उद्योग व्यवसायले आफ्नै खर्चमा अनिवार्य पिसिआर परीक्षण गर्ने व्यवस्था गराउन निर्देशन दिइएको डा गौतमले जानकारी दिए । उनले जनस्वास्थ्यका मापदण्ड पूरा गर्न र अतिआवश्यक कामबाहेक घरबाहिर ननिस्कन पनि अनुरोध गरेका छन् ।

शवबाट सङ्क्रमण सर्दैन

मन्त्रालयले मृत शरीरबाट कोभिड–१९ नसर्ने बताएको छ । शवले हाछ्युँ नगर्ने र श्वास नफेर्ने नभएकाले सङ्क्रमण नसर्ने उनले बताए। यदि शरीरबाट निस्केको तरल पदार्थ छ भने त्यो चलाएर राम्रोसँग हात नधोए भने मात्र सङ्क्रमण सर्ने उनको भनाइ छ । अन्त्येष्टिमा सबैले हात धुने, पञ्जा प्रयोग गर्ने र मास्क लगाउने गर्नुपर्छ ।

परिवार र शुभेच्छुक कसैले हेर्न चाहेमा मृतकको अनुहार मात्र खोली देखाउन सकिने र मृतकलाई हातले मुसार्ने, अँगालो हाल्ने र चुम्बन गर्न भने नपाइने उनले बताए ।

Logo