नेपालमा कोरोना संक्रमित मध्ये ८४ प्रतिशत पुरुष

नेपालमा कोरोना संक्रमित मध्ये ८४ प्रतिशत पुरुष

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना भाइरसबाट महिलाभन्दा पुरुष संक्रमित अत्यधिक देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २२ हजार ९ सय ७२ पुगेको छ। यीमध्ये पुरुष १९ हजार ३ सय ३१ (८४ प्रतिशत) जना छन्। महिलाको संख्या ३ हजार ६ सय ४१ (१६ प्रतिशत) छ।

यसको कारण के होला ? विभिन्न अध्ययन जारी रहे पनि मुख्यतः जीवनशैली र आनीबानी नै जिम्मेवार मानिएका छन् । ‘महिलाको बाहिरी हिँडडुल कम हुन्छ’, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी भन्छन्, ‘रोग प्रतिरोधात्मक क्षमता पनि तुलनात्मक रूपमा महिलामा नै बढी हुन्छ।’

पुरुषमा असावधानी र असुरक्षित दिनचर्या कारक रहेको अध्ययनहरुले देखाएका छन् । जैविक रूपमा रोग प्रतिरोध क्षमता कमी भएका पुरुष बढी जोखिममा पाइएका छन् । स्वस्थकर खाने, समयमै खाने बानीले पनि महिलामा संक्रमण न्यून देखिएको हुन सक्ने डा. तिवारीको भनाइ छ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बम घरबाहिर निस्कने र काम गर्न चलायमान हुने भएकाले पुरुषमा बढी संक्रमण र मृत्युदर पनि बढी देखिएको बताउँछन् । मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुरोग, निमोनिया, श्वासप्रश्वास लगायत दीर्घरोगबाट महिलापुरुष नै पीडित छन्। दीर्घरोगीलाई कोरोनाले मृत्युको मुखमा पुर्‍याउने जोखिम हुने विज्ञको भनाइ छ।

‘पुरुषमा बढी संक्रमण देखिनु स्वाभाविक नै हो । कोमर्बिडिटी डिजिज भनिने मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप र मिर्गौलाको समस्या महिलामा पनि पुरुषमा बढी देखिएको छ’, डा. बम भन्छन्, ‘कोमर्बिडिटीको अवस्था पुरुषमा बढी देखिएकोले मृत्युदर पनि बढी पाइएको हो।’

ग्लोबल हेल्थ ५०-५० गरेको अध्ययनले धूमपान, मद्यपान, अस्वस्थ जीवनशैलीका कारण महिलाको तुलनामा पुरुषको स्वास्थ्य कमजोर हुने निष्कर्ष निकालेको छ। उसले कोरोना अति प्रभावित २० मुलुकमा आधारित रहेर अध्ययन गरेको थियो। चीनमा आधाभन्दा बढी पुरुषले धूमपान गर्छन् । जनसंख्याको दुई प्रतिशत महिलाले मात्र धूमपान गर्छन् । इटालीमा ३० प्रतिशत पुरुषले धूमपान गर्छन् । त्यहाँ धूमपान गर्ने महिलाको संख्या १९ प्रतिशत छ। अमेरिकामा महिलाभन्दा चार प्रतिशत पुरुषले बढी धूमपान गर्छन्। विश्वभरि नै विशेषगरी ६० वर्ष नाघेका पुरुषलाई संक्रमणको बढी जोखिम देखिएको छ।अन्नपूर्णबाट

Logo