ह्वात्तै बढ्यो सप्तरीमा कोरोना संक्रमण दर , निषेधाज्ञाको अवधि एक हप्ता थपियो

ह्वात्तै बढ्यो सप्तरीमा कोरोना संक्रमण दर , निषेधाज्ञाको अवधि एक हप्ता थपियो

केन्द्रबिन्दु
0
Shares

सप्तरी ।

कोरोना सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा लगाइएको निषेधाज्ञाको अवधि पुनः एक साताका लागि बढाइएको छ ।

जिल्ला सुरक्षा समिति र जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आइतबार सम्पन्न संयुक्त बैठकले जिल्लामा लागू रहेको निषेधाज्ञा पुनः एक साताका लागि थप गरेको हो । सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यको अध्यक्षतामा बसेको बैठकले सप्तरी जिल्लाको सम्पूर्ण क्षेत्रभरि लगाइएको निषेधाज्ञालाई आगामी भदौ २ गते राति ११ बजेसम्मका लागि निरन्तरता दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले बताए।

यसअघि जिल्ला सुरक्षा समितिले साउन २० गते बिहान ५ बजेदेखि साउन २६ गते साँझ ५ बजेसम्मका लागि जिल्लाभरि निषेधाज्ञा जारी गरेको थियो । जिल्लामा कोभिड–१९ सङ्क्रमणको अवस्था र जोखिम विश्लेषणका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) र सङ्क्रामक रोग ऐन, २०२० को दफा २ बमोजिम सप्तरी जिल्लाभरि अनावश्यक हिँडडुल, आवतजावत नगर्न, नगराउन निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरिएको हो । निर्णय अनुसार नेपाल राजपत्रमा तोकिएको अत्याश्यक सेवा औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य सेवा केन्द्र, मालसामान ओसारपसार गर्ने र निर्माण कार्यमा प्रयोग हुने ढुवानीका यातायात, सरकारी छापाखाना, सञ्चार सेवा, बैंकिङ सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी सञ्चालन तथा वितरण, पेट्रोलियम पदार्थको ढुवानी भण्डार र वितरण, फोहरमैला सङ्कलन तथा ढुवानी, विद्युतीय सेवा, कृषिजन्य कार्य, कृषि तथा पशुजन्य उत्पादन ढुवानीमा प्रयोग हुने साधन जस्ता अत्यावश्यक सेवाबाहेकको सेवा र स्थलमा अनावश्यक आवतजावत गर्न पाइनेछैन ।

उपरोक्त अत्यावश्यक कामसमेत तोकिए बमोजिमको स्वास्थ्य सुरक्षा सतर्कताको मापदण्डको पूर्ण पालना गरेर मात्र गर्न, गराउन पाइनेछ । आदेशको उल्लङ्घन गर्नेलाई कानून बमोजिम कारवाही गरिने व्यवस्था छ । सप्तरी जिल्लामा हालसम्म ५७६ जना सङ्क्रमित देखिएको र त्यसमध्ये राजविराज नगरपालिका–६ का एक पुरुष र रुपनी गाउँपालिका–५ का एक पुरुष गरी दुई जनाको मृत्यु भइसकेको छ । बढ्दो सङ्क्रमणका कारण सजगता अपनाउन, सङ्क्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न निषेधाज्ञा लगाइएको प्रशासकीय अधिकृत ठाकुरले बताए ।

आगामी मङ्गलबारको कृष्णाष्टमी लगायत कुनै पनि धर्मको कुनै पनि चाडपर्व मनाउँदा निषेधाज्ञाको बर्खिलाप नहुने गरी आफ्नै घरमा सुरक्षित साथ मनाउनसमेत प्रजिअ आचार्यले अनुरोध गरेका छन् ।रासस

Logo