ह्वात्तै बढ्यो कोरोना : काठमाडौंका विभिन्न ठाउँ सिल, देशका १८ जिल्लामा निषेधाज्ञा (भिडियोसहित)

ह्वात्तै बढ्यो कोरोना : काठमाडौंका विभिन्न ठाउँ सिल, देशका १८ जिल्लामा निषेधाज्ञा (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७० पुगेको छ । शुक्रबार ५ जनाको मृत्यु भएको छ । पर्साका ३ जना, सर्लाही र सिरहाका १/१ जना जना रहेका छन् । नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । आज ४६४ जना थपिएका छन् । शुक्रबार ७ हजार ९२६ जनाको पिसिआर परिक्षण गरिएको छ ।

यस्तै निको हुनेको संख्या १५ हजार ८१४ जना पुगेको छ । शुक्रबार ४२५ जना निको भएका छन् । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ६ जिल्ला कोरोना मुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम बढेकाले थप सतर्कता अपनाउन आग्रह गरेका छन् ।

काठमाडौं उपत्यकामा शुक्रवार मात्रै १०६ जना संक्रमित थपिएका छन् । यो एकैदिन फेला परेको अहिले सम्मकै धेरै संक्रमित हो । काठमाडौं उपत्यकामा मात्रै कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ । काठमाडौंमा मात्रै ७६६, ललितपुरमा १३४ र भक्तपुरमा ८२ जना पुगेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने सङ्ख्या बढिरहेको छ । अस्पतालमा क्षमताभन्दा बढी सङ्क्रमित आउन थालेपछि बिरामी राख्ने शय्याको समेत अभाव हुन थालेको छ ।

पाटन अस्पतालमा कोभिड–१९ का लागि छुट्ट्याइएका ६० शैया भरिएर थप १२ शैया पनि सङ्क्रमितलाई राखेर उपचार गरिरहेको अस्पतालका निर्देशक डा विष्णुप्रसाद शर्माले जानकारी दिए । तीमध्ये चार जनालाई भेन्टिलेटरमा राखी उपचार गरिरहेको उनले जानकारी दिए ।

यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि शैया अभाव हुन थालेको छ । कूल ५० शैयामा एउटा मात्र खाली रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए । अस्पतालमा सघन उपचार कक्ष (आइसियु) २० वटामध्ये १५ वटामा संक्रमितको उपचार भइरहेको छ । यस्तै नौ भेन्टिलेटर मध्ये दुई भेन्टिलेटरमा गम्भीर अवस्थाका बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले सङ्क्रमित बढ्न थालेपछि अब लक्षण भएका संक्रमितलाई मात्र भर्ना गरेर उपचार गरिने बताए । उनले लक्षण नभएका संक्रमितलाई घरमै आइसोलेसनमा बसेर उपचार गरिने बताए । केही दिनयता रुघाखोकी, ज्वरो, स्वासप्रस्वासमा समस्या, थकाइ लाग्ने, स्वाद तथा गन्ध थाहा नपाउने जस्ता लक्षण भएका संक्रमित देखिन थालेका छन् ।

अस्पतालमा भर्ना भएका ३३ प्रतिशत सङ्क्रमितमा लक्षण देखिएका छन् । यसैगरी वीर अस्पतालमा दुई जनाको आइसोलेसनमा राखेर उपचार भइरहेको छ । कोभिड–१९ अस्पताल नतोकिए पनि चार वटा आइसोलेसन शय्याको व्यवस्था गरेको वीरका निर्देशक डा केदार सेञ्चुरीले जानकारी दिए ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमितलाई पनि उपचार गर्न परिपत्र गरेपछि आवश्यक व्यवस्था गर्न थालेको बताए । उनका अनुसार वीरमा अहिले १५ संक्रमितलाई उपचार गर्ने व्यवस्था रहेको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा अहिले नौ जना संक्रमितको उपचार भइरहेको छ । ती मध्ये तीन जना आइसियु र छ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको अस्पतालका कोभिड–१९ व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासले जानकारी दिए । उनका अनुसार अस्पतालमा १५ जनालाई मात्र उपचार गर्ने सक्ने व्यवस्था रहेको छ ।

मुलुकमा कोभिड–१९ संक्रमणको जोखिम बढेपछि संक्रमण रोक्न सरकारबाट प्राप्त निर्देशन र ऐन नियमले दिएको अधिकार उपयोग गर्दै जिल्ला र स्थानीय तहले भूमिका बढाएका छन् । आआफ्ना क्षेत्रमा देखिएको संकट विश्लेषणका आधारमा जिल्ला र स्थानीय तह क्षेत्र अनुकूलको निर्णय गर्दै कोभिड–१९ विरुद्ध सक्रिय भएका हुन् ।

गृह मन्त्रालयबाट प्राप्त विवरण अनुसार आजसम्म १८ जिल्लाले यस्तो निर्णय गरेर कार्यान्वयन थालेका हुन् । मुलुकका धेरै स्थानीय तहले पनि आवश्यक निर्णय गर्दै कार्यान्वयन गरिरहेको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । जिल्लामा फरकफरक निर्णय भएको छ, कतै सेवा मात्रै व्यवस्थापन गर्ने निर्णय भएको छ, कतै निषेधाज्ञा गरिएको छ र कुनै जिल्लाले निश्चित क्षेत्रमात्र सिल गरेका छन् ।

नेपाल सरकारको निर्णयले कोभिड–१९ को संक्रमण रोक्न गत चैत ११ गतेदेखि झण्डै चार महिना बन्दाबन्दीको आदेश कार्यान्वयन गरिएको थियो । तर, लकडाउनले जनजीवन नै प्रभावित हुन पुगेको निष्कर्षसहित यही साउन ५ को मन्त्रिपरिषद्को निर्णयले साउन ६ गतेदेखि औपचारिक रुपमा बन्दाबन्दी अन्त्य भएको घोषणा भयो ।

त्यसलगतै मानिसको चहलपहल लापरवाही बढ्यो । त्यसपछि विस्तारै कोभिड–१९ ले उग्ररुप लिन थाल्यो । अहिले दैनिकजसो तीन/चार सय मानिसमा सङ्क्रमण देखिन थालेको छ ।

शुरुदेखि नै भारतबाट आवातजावत बढी भएको ठाउँमा देखिएको संक्रमण अहिले पनि भारततर्फ सिमाना जोडिएको तराईका क्षेत्रमा बढी छ । उपत्यका पनि जोखिममा रहेको तथ्याङ्कले देखाएको छ । सरकारको निर्णय अनुसार अहिले जिल्ला र स्थानीय तहले समेत रोग नियन्त्रणका लागि आवश्यक निर्णय गर्ने अधिकार दिइएको छ । ऐन, नियम र सरकारको आदेश अनुसार नै जिल्ला र स्थानीय तह अहिले कोभिड–१९ रोक्न सक्रिय भएर लागेका छन् । पहिले सरकारले गरेकोे निर्णय कार्यान्वयन गर्ने स्थानीय तह अहिले आफैँ निर्णय गर्दै कार्यान्वयन गरिरहेका छन् ।

प्राप्त विवरण अनुसार सप्तरी, धनुषा, नुवाकोट, बाँके, मोरङ, पर्सा, बारा, महोत्तरी, झापा, सुनसरी, बझाङ, दार्चुला, सर्लाही, र स्याङ्जामा निषेधाज्ञा जारी गरिएको छ । त्यसमध्ये सप्तरी, सर्लाही, स्याङ्जा, बाँके र बारा, पर्सामा भने जिल्लाभर नै निषेधाज्ञा जारी गरिएको छ । मकवानपुरमा प्रवेश निषेत्र गरिएको छ । यता काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सेवा १५ दिनका लागि स्थगित गर्ने भएका छन् । हेरौं यो भिडियोमा :

 

Logo