उपत्यकामा संक्रमित दर बढ्न थाले, अस्पतालमा बेड अभाव

उपत्यकामा संक्रमित दर बढ्न थाले, अस्पतालमा बेड अभाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ संक्रमितको उपचारका लागि सरकारले उपत्यकामा बनाएको अस्पतालको बेड दिनदिनै भरिन थालेका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा सङ्क्रमितको भर्ना हुने संख्या बढिरहेको छ । यसरी दिनप्रतिदिन काठमाडौं उपत्यकामा संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुने अवस्था आउन सक्ने देखिएको छ ।

उपत्यकामा थपिएका नयाँ संक्रमित र उपचाररत संक्रमित बाहिरी जिल्ला र थोरै मात्र उपत्यकाका छन् । काठमाडौं उपत्यकामा संक्रमित थपिन थालेपछि सरकारले परीक्षण दायरा बढाएकाले संक्रमित संख्या ह्वात्तै बढेको हो । अस्पतालमा लक्षणसहितका संक्रमितलाई उपचार गर्दा अस्पतालमा बेडको अभाव हुने सम्भावना बढ्दै गएको छ । अस्पतालको बेड भरिएपछि कोरोना पोजिटिभ देखिएको तर, लक्षण नदेखिएका बिरामीलाई कोभिड अस्पताल बाहेकका अस्पतालमा लगी उपचार गर्न थालिएको छ ।

उपत्यकामा मुख्यतः सरकारले कोभिड अस्पतालको उपचार केन्द्रको रुपमा शुक्रराज ट्रपिकल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बलम्बुको सशस्त्र अस्पताललाई लिएको छ । कोभिड उपचार केन्द्रको रुपमा यि सबै अस्पतालमा संक्रमितको संख्याले बेड भरिएको छ । मुख्य अस्पतालले लक्षण भएका संक्रमितलाई मात्र उपचार गरिरहेका छन् ।

अस्पतालको आइसोलेसन बेड प्याक, आइसियुमा राखी उपचार

कोरोनाका लक्षण सहितका ४६ जना बिरामीलाई अस्पतालमा राखी उपचार गरिएको र बेड सबै प्याक भएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक सागर कुमार राजभण्डारी बताउँछन् । कोरोना पोजिटिभ भएका तर, लक्षण नभएका संक्रमितलाई उपत्यकाको अन्य अस्पतालमा पठाउने गरिएको उनले बताए । आइसोलेसन बेडको अभाव भएर आइसियुको बेडमा राखी उपचार गर्न थालिएको राजभण्डारीले जानकारी दिए । आइसियुमा १४ जना संक्रमितलाई राखी उपचार गरिरहेको जसमा २ जनालाई भेन्टिलेटरमा राखिएको र अवस्था सामान्यतर्फ गइसकेको उनले बताए । अस्पतालबाट दैनिकजसो ४ देखि ५ जना डिस्चार्ज भइरहेका पनि उनले जानकारी दिए ।

अस्पतालमा धेरैजसो पुरुष संक्रमित छन् । तीन जना महिला रहेकाले तिनीहरुलाई छुट्टै बेड बनाइ उपचार प्रक्रिया बढाइसकिएको उनको भनाइ छ । उनले भने, ‘के एम सी अस्पताल, कीर्तिपुर, ह्याम्स र अन्य सरकारले तोकेको अस्पतालमा संक्रमितलाई पठाउने गरिएको छ ।’
बेड थप्दै संक्रमितको उपचार गर्दै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६६ जना संक्रमितको उपचार भइरहेको छ । अस्पतालको आइसोलेसन बेड पूर्णरुपमा प्याक भइनसकेकोले अस्पतालमा आएका संक्रमितलाई नफर्काउने गरेको अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए । बेडको अभाव हुन नदिने र त्यसको लागि अस्पताल प्रशासनले व्यवस्थापन गर्ने प्रयास गरिरहेको उनले जानकारी दिए । अस्पतालमा ६० बेडको आइसोलेसन छ । ६ जना संक्रमितलाई बेडको दूरी बनाई समायोजन गरि राखिएको शर्माले बताए । उनले भने, ‘आइसियुमा ८ जना संक्रमितको उपचार भइरहेको छ । केहीको अवस्था गम्भीर छ ।’

सशस्त्र प्रहरी अस्पतालमा संक्रमितको लागि बेड अभाव

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा १ सय १६ संक्रमितको उपचार भइरहेको अस्पतालका प्रवक्ता एसपी प्रवीण नेपालले जानकारी दिए । सबै संक्रमित लक्षणसहितका भएकाले उनीहरुलाई अस्पतालमा राखी उपचार गरिएको उनले बताए । उनले भने, ‘संक्रमितको संख्या बढी भएकोले अस्पतालको बेड भरिएको छ । दैनिकजसो डिस्चार्ज पनि हुन्छन् । तर, संक्रमतिको संख्या बढी भएकोले बेड अभाव छ ।’ अस्पतालको आइसियुमा २ जनालाई राखी उपचार गरिरहेको र अवस्था गम्भीर रहेको उनले जानकारी दिए । ‘अस्पतालमा भर्ना भएका शंकास्पद ६ जनालाई पनि यहीँ राखी उपचार गरिएको छ,’ उनले भने ।

घरमा रहेका लक्षण नभएका संक्रमितलाई गाह्रो भए अस्पताल भर्ना हुनु र सरकारले लक्षण नभएका संक्रमितलाई स्वेच्छाले उपचार घरमा बसी उपचार गर्न अनुमति दिइसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रणबाट प्राप्त तथ्यांक अनुसार काठमाडौंमा घरमा बसी उपचार गर्नेको संख्या २७ पुगेको छ । कोरोना पुष्टि भएका र लक्षण नदेखिएका बिरामीलाई घरमा स्वास्थ्यकर्मीको निगरानीमा उपचार गर्न दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए । उनले भने, सरकारले निर्देशिका जारी गरे अनुसार घरमा आइसोलेसन कोठा हुनुपर्छ । एकान्त तथा हावा ओहोरदोहोर गर्ने हुनुपर्छ । त्यस्तो व्यवस्था भएमा लक्षण नभएका संक्रमितले घरमा बसी उपचार गर्न पाउँछन् ।’

घरमा बस्ने संक्रमितलाई प्रत्यक्षरूपमा स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले जानकारी दिए । १ जना स्वास्थ्यकर्मीले घरमा बसेका ५० जना संक्रमितलाई हेर्ने गरेको पनि उनले जानकारी दिए । घरमा बस्ने संक्रमितलाई स्वास्थ्यकर्मीले निगरानीमा राखेका छैनन नि ? भन्ने प्रश्नमा उनले भने, यदि कुनै पनि संक्रमितलाई स्वास्थ्यकर्मीले निगरानी नगरेको भए संक्रमितले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्नुपर्यो । घरमा बसेका संक्रमितले अस्पताल भर्ना हुन्छु भनेमा अस्पताल भर्ना हुने व्यवस्था गराउँछु । स्वास्थ्यकर्मीले निगरानीमा कसैलाई पनि कमी राखिएको छैन ।’ घरमा बस्ने संक्रमितलाई स्थानीय सरकारको समन्वयमा राखिएको उनले बताए । स्थानीय सरकारको मातहतमा रहेका स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गरिरहेको उनको दाबी छ । यदि कुनै संक्रमितलाई गाह्रो भए अस्पताल भर्ना हुन पनि उनले सुझाव दिए ।

Logo