कोरोना ‘हटस्पट’ बन्दै देशका मुख्य सहरहरु

कोरोना ‘हटस्पट’ बन्दै देशका मुख्य सहरहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नेपालमा जनवरी २३ मा पहिलो पटक देखिएको थियो । पहिलो केस पुष्टि भएको यो ७ महिनाको अवधिमा मुलुकभर कोरोना संक्रमितको संख्या २१ हजारमाथि पुगेको छ ।

गत असार १ गते बाट लकडाउन खुकुलो भएसँगै नेपालमा संक्रमितको संख्या ह्वात्तै बढेको हो । दिनप्रतिदिन २ सयमाथि संक्रमित संख्या थपिँदै गएको छ । अहिले देखिएका संक्रमितहरुको ट्राभल हिस्ट्री नभएका र क्वारेन्टाइन बाहिरका मानिसमा कोरोना देखिन थालेको छ ।
लक्षणसहितका संक्रमित बढेसँगै अस्पतालमा बस्नेको संख्या पनि बढदै गइरहेको छ । संक्रमितको संख्या बढदै गएपछि जिल्ला प्रशासन तथा स्थानीय सरकारले कोरोना नियन्त्रण गर्न लकडाउनदेखि निषेधाज्ञा जारी गरिसकेको छन् । त्यस्तै सरकारले काठमाडौं उपत्यकामा बढी जोखिम रहेकोले घरबाहिर ननिस्कन र अतिआवश्यक कामबाहेक बाहिर नजान आग्रह गरिसकेको छ । त्यस्तै गृह मन्त्रालयले एक सूचना जारी गर्दै आजदेखि यातायातमा पुनः जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० जनाभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
यतिखेर मुलुकको मुख्य–मुख्य सहरमा कोरोनाले प्रवेश गरिसकेको छ । दैनिक जसो काठमाडौ, वीरगञ्ज, विराटनगर, इटहरी, बुटवल, र नेपालगञ्ज जस्ता सहरमा कोरोना संक्रमितको संख्या बढदै गएको छ ।

संक्रमितको संख्या बढदै गएपछि देशभरको मुख्य–मुख्य सहरमा जोखिम बढदै गएको छ । केही सहरहरुले संक्रमण नियन्त्रणका लागि शिल समेत गरिसकेको छ । तर, धेरै जसो स्थानीय सरकार र जिल्ला प्रशासनले कोरोना नियन्त्रणमा गम्भीर चासो नलिएको पनि देखिएको छ । यसरी चासो नलिने हो भने कोरोनाको स्थिति भयावह हुँदै जाने केही दिन यता बढेको संक्रमितको संख्याले देखाइरहेको छ ।

संक्रमित बढिरहेका जिल्लास्थित मुख्य–मुख्य सहरका स्थानीय सरकार र जिल्ला प्रशासनले के–के प्रयासहरु गर्दैछ त ? ‘कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रदेश नम्बर १ मा सबैभन्दा राम्रो काम भइरहेको छ । कोरोनाबाट प्रदेश नं. १ मा हालसम्म एक जनाले मात्र ज्यान गुमाएका छन् । ४२ हजार भन्दा बढी पिसी.आर टेष्ट भइसकेको छ । त्यसैले तुलनात्मक रुपले हेर्दा प्रदेश नं. १ संक्रमणको कम जोखिममा रहेको प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राई बताउँछन् ।’

स्थानिय सरकारले यसो भनिरहँदा यता प्रदेश नं. १ कै सहर इटहरीमा कोरोना नियन्त्रण भन्दा बाहिर जाने सम्भावना देखिएको छ । दैनिक जसो संक्रमितको संख्या बढिरहेकाले उपमहानगरपालिकाभित्र रहेका मानिसको कोरोना परीक्षणको लागि स्वाब संकलन गरिरहेको छ । ‘१४ गतेदेखि अहिलेसम्म ४ सय भन्दा बढी परीक्षण गर्न स्वाब संकलन गरिसकेको इटहरी उप–महानगरपालिका उपप्रमुख मञ्जु गौतम बताउँछिन् ।’

इटहरीमा व्यवसाय गरेर बसेका, घरमा बसेका मानिसहरु र ट्राभल हिस्ट्री नभएका मानिसहरुमा कोरोना पोजिटिभ देखिएको छ । ‘यही अवस्था भयो भने यस क्षेत्रमा कोरोना नियन्त्रणबाहिर जान सक्छ ।’ यसरी संक्रमित बढदै जाने हो यसले स्थिति भयावह हुने गौतमले जानकारी दिइन् ।’ उनले भनिन्,’ संकलन गरिएको नमुनाको रिजल्ट आएपछि उपमहानगरभित्र कोरोना नियन्त्रण तथा रोकथाम गर्न के गर्न सकिन्छ । थप रणनीति तयार गरिन्छ ।’

उपमहानगरपालिका क्षेत्र भित्र रहेको इटहरी अस्पताललाई कोरोना उपचार केन्द्र बनाउने तयारी भइरहेको छ । १५ शैया बेडको अस्पतालमा २५ शैया बनाएर संक्रमितको उपचार गर्ने तयारी गरिएको छ ।

काठमाडौंमा क्वारेन्टाइन नबनाउँदा कोरोना फैलियो

काठमाडौं महानगरपालिका भित्र रहेका खाली भवनलाई खोजी उपचार केन्द्र बनाउने तयार भइरहेको स्वास्थ्य विभागका स्वास्थ्य सहायक ऋषि भुषालले बताए । समयमा क्वारेन्टाइन र आइसोलेसन बनाउन नसक्दा बाहिरबाट आएका मानिसलाई महानगरभित्र राख्न नसक्दा केही संक्रमितको संख्या बढेको छ । प्रदेश र केन्द्र सरकारले महानगरपालिकालाई कोरोना नियन्त्रण गर्नलाई सहयोग गर्न नसक्दा पनि केही असहज अवस्था आएको उनको भनाइ छ ।

‘महानगरपालिकाभित्र भएका संक्रमितलाई होम क्वारेन्टाइन र आइसोलेसनमा बस्न निर्देशन दिन्छौं । सरकारले तयार पारेको मापदण्ड अनुसार घरमा बस्न दिने तयारी गरिरहेको छौं ।’ उनले भने । पछिल्लो केही दिनयता महानगरबासीले स्वास्थ्य मापदण्डको नियम केही नमानेकाले लकडाउन गर्न सरकारसमक्ष सिफारिस गरिएको भुषालले जानकारी दिए ।

वीरगन्जमा कोरोना नियन्त्रणमा चुनौती

कोरोना नियन्त्रणको लागि महानगरबासीमा बढी चुनौती थपिएको नेपाल सरकारको स्वास्थ्य मापदण्डको प्रोटोकल अनुसार कोरोना नियन्त्रण तथा रोकथामका लागि काम गरिरहेको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौलाले बताए ।

महानगरभित्र रहेका स्वास्थ्यकर्मीहरु आफ्नो दायित्व सम्झेर काम गरिरहेका छन् । सबै संक्रमितलाई जिल्लाका विभिन्न अस्पताल लगी उपचार गरिरहेको छ । त्यस्तै महानगरपालिकाको प्रमुख समेत संक्रमित भएका छन् । महानगरका सबै कर्मचारीहरु कोरोना रोकथाम तथा नियन्त्रण गर्न लागिपरेका छन् । केही समय अगाडीदेखि विरगन्ज महानगरपालिकालाई पूर्णरुपमा निषेधाज्ञा जारी गरेको छ । यहीँ अवधिमा समुदायमा व्यापक परीक्षणको दायरा बढाइएको निरौलाले बताए । केही संक्रमित घरमा उपचार गरिरहेको पनि उनले जानकारी दिए ।

वीरगन्जमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको प्रोटोकल जारी गरी घरमा उपचार गरिरहेको छ । लकडाउनले महानगरबासीको जीवनयापनमा असहज अवस्था सिर्जना भइरहेको छ । महानगरवासी तथा विपन्न वर्ग र काम गरी खान नसक्नेलाई राहत दिने पनि तयारी गरिरहेको अधिकृत निरौलाले बताए ।

Logo